प्रज्जवल थापा
काठमाडौं। कप्तान शिखर धवनले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि श्रीलंका भ्रमणमा रहेको भारतले जित हात पारेको छ । आइतबार भएको पहिलो एकदिवसीय खेलमा घरेलु टोली श्रीलंकालाई ७ विकेटले पराजित गर्दै भारतले सिरिजमा विजयी शुरुवात गरेको हो ।
जितको लागि २ सय ६३ रनको लक्ष्य पछ्याएको भारतले ३६.४ ओभरमै २ सय ६३ रन बनाउँदै सहजै लक्ष्य भेट्टायो । भारतको लागि कप्तान शिखर धवन र इसान किसानले अर्धशतक पूरा गरे । ओपनर धवनले टोलीको लागि सार्वधिक ८६ रन जोड्दै नटआउट रहे । उनले ९५ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका इसानले ४२ बलमा ८ चौका र २ छक्काको मद्दतमा ५९ रन जोडे । यस्तै ओपनर पृथ्वी शहले ४३, शुर्य कुमार यादवले ३१ र मनिष पाण्डेले २६ रनको योगदान गर्दै टोलीलाई जित दिलाए ।
श्रीलंकाको लागि धनन्जय डि सिल्भाले ५ ओभरमा ४९ रन दिएर २ विकेट लिँदा लक्षन सान्डकनले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्न उत्रिएको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ६२ रन जोडेको थियो । श्रीलंकालाई ओपनरद्वय अभिश्का फेर्नान्डो र मिनोद भानुकाले राम्रो शुरुवात दिलाएका थिए । ९।१ ओभरमा अभिश्का फेर्नान्डो ३३ रन जोड्दै चहालको बलमा आउट भएपछि श्रीलंकाले पहिलो विकेट गुमाएको थियो ।
अर्का ओपनर मिनोद ४४ बलमा २७ रन जोडेर आउट हुँदा भानुका राजापास्का २४ रन जोड्दै पभिलियन फर्किए । आठौं नम्बरमा ब्याटिङ गर्न आएका चामिका कारुनारात्नेले टोलीको लागि सार्वधिक ४३ रन जोडे । उनले ३५ बलमा २ छक्का र १ चौका प्रहार गरे । यस्तै शानाकाले ३९, असालान्काले ३८, चामिराले १३, धनन्जयले १४ र इर्सु उडानाले ८ रनको योगदान गरे ।
श्रीलंकालाई मध्यम स्कोरमा रोक्न भारतको लागि दिपक चहारले ७ ओभरमा १ मेडन राख्दै ३७ रन दिएर २ विकेट लिए । स्पिनरद्वय युज्वेन्द्र चहाल र कुलदिप यादवलेपनि समान २र२ विकेट लिँदा हार्दिक पाण्ड्यको नाममा एक विकेट रह्यो । जितसँगै भारतले ३ खेलको एकदिवसीय सिरिजमा १(० को अग्रता लिएको छ ।