पूर्वमा पेट्रोलियम पदार्थ अभाव

धरान। नेपाल आयल निगमको विराटनगरस्थित कार्यालयले माग बमोजिम पेट्रोलियम पदार्थ नदिँदा प्रदेश १ मा अभाव देखिन थालेको छ। निगमले माग बमोजिम पेट्रोल दिन नसकेको व्यवसायीको भनाइ छ। एक सातादेखि निगमले मागभन्दा ज्यादै थोरै मात्रामा पेट्रोल दिएपछि अभाव हुन थालेको हो। व्यवसायीका अनुसार एक सातादेखि नै समस्या देखिन थालेको हो।

समस्या बढ्दै गएपछि असार ३० गते लिखित रूपमै आपूर्ति सहज बनाउन आग्रह गरिएको पेट्रोलियम डिलर्स एसोसिएसन कोसीका महासचिव महेन्द्र अग्रवालले बताए। आइतबार प्रशासनलाई पनि जानकारी गराउने उनले बताए। उनले भने, ‘निगमले माग बमोजिम तेल दिन सकेको छैन, हामीले ३० गते नै माग अनुसार पेट्रोल दिनुपर्‍यो भनेर पत्र दिएका छौ। कोसिस गर्दैछौं मात्र भन्छन्। हामी आइतबार प्रशासनलाई पनि जानकारी गराउँछौं।’

व्यवसायीका अनुसार पेट्रोल कम भएको भन्दै निगमको विराटनगर क्षेत्रीय कार्यालयले पम्प छानेर मात्र पठाउने गरेको छ। कार्यालय प्रमुख नकुल भण्डारीले आफूखुसी पम्प छानेर पेट्रोल पठाउँदा समस्या भएको धरान भोटेपुलस्थित हिमालय पेट्रोल पम्पकी सञ्चालक सुनिता केसीले जानकारी दिइन्। उनले भनिन्, ‘बिहीबार तेल दिने भनेर हाम्रो पम्पको नाम टिपाइसकेको थियो, पछि नाम काटिएछ। नदिनुको कारण केही छैन। हाम्रो पम्प त बन्दै छ।’

बिहीबार निगमको विराटनगर डिपोबाट १ लाख ४० हजार लिटर पेट्रोल वितरण भएको थियो। यो परिमाणको तेल मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनकुटा लगायत पहाडी जिल्लामा पनि गएको थियो। तर बिहीबार पेट्रोलको माग ६ लाख लिटर रहेको पेट्रोलियम डिलर्स एसोसिएसन कोसीका महासचिव अग्रवालले बताए। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *