इजरायल रोजगारी खुल्दै

काठमाडौं। लामो समयदेखि रोकिएको इजरायल रोजगारी सुरु गर्ने अन्तिम तयारी गरिएको छ। वैदेशिक रोजगार विभागले यसै महिनाको दोस्रो सातादेखि इजरायलमा केयरगिभरमा कामदार पठाउन अनलाइन आवेदन खोल्ने तयारी गरेको जनाएको छ। केयरगिभरको काम बृद्धबृद्धा र बालबालिकाको रेखदेख गर्नु हो।

विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले साउन दोस्रो साताबाट अनलाइन आवेदन खुलाउने तयारी भइरहेको जानकारी दिए। यसअघि विभागले साउनको सुरुदेखि नै आवेदन खुलाउने भनेको थियो। तर इजरायल कामदार पठाउने प्रक्रियाबारे केही मिलाउनुपर्ने भएकाले ढिलाइ भएको विभागले जनाएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलको रोजगारी सुचारु गर्न छनोट कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरेको लामो समयसम्म स्वीकृत नभएपछि ढिलो भएको बताइएको छ। पहिलो चरणमा पाँच सयलाई इजरायल पठाउने तयारी छ। तीमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छनोट गर्ने गरी आवेदनको तयारी गरिएको विभागले जनाएको छ।

केयरगिभरमा श्रमिक पठाउन ‘इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका २०७८’ जारी भइसकेको छ। विगतमा पनि पटकपटक इजरायलमा केयरगिभर पठाउने प्रयास भए पनि अनेक कारणले रोकिँदै आएको छ। अनेक प्रयासपछि चार वर्षअघि केयरगिभर पठाउन सुरु गरिएको थियो।

पाइलट प्रोजेक्टको रूपमा त्यतिखेर तीन सय श्रमिक पठाउन दुई देशबीच सहमति भए पनि एक सयजना पठाइएपछि उक्त प्रोजेक्ट रोकिएको थियो। चार वर्षअघि पनि इजरायल रोजगारी सुरु हुने र बन्द हुने क्रम जारी रहँदै आएको थियो।नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *