वाग्मती प्रदेशको बजेट पारित

वाग्मती । वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट बहुमतले पारित भएको छ । वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्षको लागि पेश गरिएको ५७ अर्ब ७२ करोड नौ लाख २७ हजार रुपैयाँको बजेट पारित भएको हो।

प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले कुल विनियोजनमध्ये चालु तर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार, पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार र वित्तीय व्यवस्थातर्फ २ अर्ब विनियोजन गरेका थिए। कुल विनियोजनमा चालुतर्फ ४५ प्रतिशत, पुँजीगततर्फ ५१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४ प्रतिशत रहेको छ।

प्रतिपक्ष दलका प्रदेशसभा सदस्यहरुले सोमवार मात्रै बजेट पारित बारेको निर्णयार्थ छलफल अघि बढाउन सभामुख समक्ष माग गरेका थिए। सत्तारुढ दल नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीका प्रदेशसभा सदस्यहरुको उपस्थितिमा बहुमतले बजेट पारित गरेको हो।

बजेटमा खर्च व्यहोर्ने श्रोतमध्ये कर राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख रुपैयाँ, अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख ३१ हजार रुपैयाँ, संघीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानमा प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख रुपैयाँ, विविध प्राप्ति १ अर्ब ५ करोड ९ लाख ९६ हजार र चालु आर्थिक वर्षको राजस्व बचतबाट ९ अर्ब १० करोड प्राप्त हुने अनुमान गरिएको छ।

प्रदेशसभामा रहेका एक सय नौ जना प्रदेशसभा सदस्यमध्ये नेकपा एमालेको मात्र ५६ जना रहेका छन्। तीमध्ये २१ जना माधव नेपाल पक्षका रहेका छन्। नेपाल पक्षसँगै नेपाल मजदुर किसान पार्टीका दुई जना प्रदेशसभा सदस्यले समर्थन गरेपछि बजेट पारित भएको हो।

बजेट पारित हुनुअघि वाग्मती प्रदेश सरकारको नयाँ आर्थिक वर्ष २०७८/७९ को बजेट बारे प्रतिपक्षहरुले उठाएका प्रश्नहरुको मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरुले जवाफ दिएका थिए। त्यस्तै, विपक्षी दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले बजेटले प्रदेशबासीलाई नछोएको भन्दै असहमति व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *