ट्राफिक प्रहरीद्वारा निषेधाज्ञामा चोरी भएका ३१ वटा चोरीका मोटरसाइकल धनीलाई हस्तान्तरण

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञाको समयमा हराएका मोटरसाइकल नियन्त्रणमा लिई धनीलाई हस्तान्तरण गरेको छ ।

कोभिड-१९ महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि सरकारले जारी गरेको निषेधाज्ञाको समयमा विभिन्न स्थानबाट हराएका मोटरसाइकल र स्कुटर मंगलबार महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएकोमा ३३ वटा मोटरसाइकल र ८ वटा स्कुटर छन् ।

पछिल्लो समय चोरी भएका अधिकांश मोटरसाइकल बजाज कम्पनीको पल्सर र हिरो होण्डा कम्पनीका रहेका महाशाखाले जनाएको छ । विशेष गरेर चोरी गर्ने समूहले सस्तो, सुलभ, आकर्षक र बढी डिमाण्ड हुने खालका मोटरसाइकल र स्कुटरहरु चोरी गर्ने गरेको पाइएको छ ।

महाशाखाले यस आर्थिक वर्षमा मात्रै हराएका ४ सय १३ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *