प्रज्जवल थापा । युरोपेली फूटबल च्याम्पियनसिपमा आज चार खेल हुँदैछ । आज समूह ’बी’ र ’सी’ अन्तर्गतका खेलहरु हुनेछन् ।
१. नर्थ म्यासेडोनिया विरुद्ध नेदरल्यान्ड्स
आज हुने समूह ’सी’को खेलमा पहिलो दुवै खेल जितेको नेदरल्यान्ड्स र दुवै खेलमा हार बेहिरेको नर्थ म्यासेडोनिया भिड्दैछन् । प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको म्यासेडोनिया आजको खेलमा सकारात्मक नतिजा निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । पहिलो दुई खेलमा कुनै अङ्क जोड्न नसकेको म्यासेडोनिया समूहको पुछारमा छ । यता एक खेल अगावै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरिसकेको नेदरल्यान्ड्स लगातार तेस्रो जित निकाल्दै अन्तिम १६ मा प्रवेश गर्ने शुरमा छ ।
२. युक्रेन विरुद्ध अष्ट्रिया
आज हुने यस खेलको विजेताले सिधै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गर्नेछ भने पराजित हुने टोलीले अन्तिम १६ प्रवेशको लागि अन्य समूहको नतिजा पर्खिनुपर्नेछ । युक्रेन २ खेलबाट ३ अङ्क जोड्दै दोस्रो स्थानमा छ भने समान अङ्क जोडेको अष्ट्रिया तेस्रो स्थानमा छ ।
३. फिनल्यान्ड विरुद्ध बेल्जियम
सिधै नकआउट चरण प्रवेशको लागि फिनल्यान्डलाई आजको खेलमा स्पष्ट जितको आवश्यकता रहेको छ । पहिलो खेलमा डेनमार्कलाई स्तब्ध पारेको फिनल्यान्डले दोस्रो खेलमा हार बेहोरेको थियो । हाल फिनल्यान्ड २ खेलबाट ३ अङ्क जोड्दै समूहको तेस्रो स्थानमा छ । यता अन्तिम १६ मा आफ्नो स्थानम सुरक्षित गरिसकेको बेल्जियम अपराजित रहन चाहन्छ ।
४. रसिया विरुद्ध डेनमार्क
प्रतियोगिताबाट बाहिरिसकेको डेनमार्क आजको खेलमा जित निकाल्दै सुखद अन्त्यको अपेक्षामा छ । प्रतियोगिताको दुवै खेलमा पराजित भएको डेनमार्क समूहको पुछारमा छ । यता रसियालाई भने अन्तिम १६ प्रवेशको लागि आजको खेलमा जित आवश्यक रहेको छ । आजको खेलमा पराजित भए वा बराबरी खेलेको खण्डमा रसियाले फिनल्यान्ड र बेल्जियमबिच हुने खेलको नतिजा पर्खिनुपर्नेछ ।
खेल हुने समय
नर्थ म्यासेडोनिया विरुद्ध नेदरल्यान्ड्स (राति ९ः४५ बजे)
युक्रेन विरुद्ध अष्ट्रिया (राति ९ः४५ बजे)
फिनल्यान्ड विरुद्ध बेल्जियम (राति १२ः४५ बजे)
रसिया विरुद्ध डेनमार्क (राति १२ः४५ बजे)
