काठमाडौँ । आन्तरिक तथा बाह्य हवाई सेवा र लामो दुरीको यातायात सञ्चालन आगामी भदौ १५ गतेसम्म नहुने भएको छ । हिजो साँझ कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को बैठकले आगामी भदौ १५ गतेसम्म स्थगन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने निर्णय गरेको हो ।
सरकारले साउन ७ देखि लकडाउन खुला गरे सँगै कोरोनाभाइरसको संक्रमण र जोखिममा बढ्दै गएको भन्दै सीसीएमसीले भदौ १५ सम्म रोक लगाउन प्रस्ताव गरेको छ । गत साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ देखि आन्तरिक तथा बाह्य हवाई सेवा, शैक्षिक संस्था तथा लामोदूरीका यातातायत सञ्चालन गर्ने निर्णय गरेको थियो । तर कोरोना भाइरसको जोखिम बढिरहेको अवस्था भएकाले हवाई उडानमा थप १५ दिन सम्म थप स्थगन गर्ने प्रस्ताव गरिएको एक मन्त्रीले बताए । सीसीएमसीले गरेको प्रस्ताव संभवतः आज बस्ने मन्त्रीपरिषदले अनुमोदन गर्ने जनाइएको छ ।
यसका साथै, बैंक एवम् विभिन्न संघ संस्थामा ५० प्रतिशत कर्मचारीले पालै पालो गरि सेवा सुविधा दिन भनिएको छ । सरकारले कोरोनाभाइरस संक्रमण नियन्त्रण गर्नको लागि चैत ११ बाट लकडान गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय उडानमा चैत ९ देखि र आन्तरिक उडानमा चैत ११ बाट प्रतिबन्ध लगाएको थियो ।
