विदेशमा कोरोनाबाट १९१ नेपालीको ज्यान गयो

काठमाडौँ । विश्वभर महामारीका रुपमा फैसिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण विदेशमा १ सय ९१ जना नेपालीको ज्यान गएको छ । भारतमा यो साता थप दुई जनाको कोरोनाका कारणले मृत्यु भएपछि विदेशमा मृत्यु हुने नेपालीको संख्यामा १ सय ९१ पुगेको हो ।

गैरआवासीय नेपाली संघका अनुसार शनिवार साँझसम्म नेपालसहित विश्वभर २ सय ६४ जना नेपालीको कोरोना कारण ज्यान गएको छ । गत साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेवियामा थप नेपालीमा संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार गत हप्ताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायतका देशमा कोरोना संक्रमणको दरमा कमी आएको छ । यो साता अष्ट्रेलिया रहेका १ सय ४६ जना नेपालीमा नयाँ संक्रमण थपिएको समितिले जनाएको छ ।

विश्वमा ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, नेपाल, साउथअफ्रिका लगायतका १६ देशमा नेपालीहरुको ज्यान गएको थियो ।

हाल सम्म नेपाल सहित ५५ हजार ९ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ४७ हजार ४ सय ३७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *