काठमाडाैँ । कोरोना महामारीसँगै सत्ताको खेलमा अल्झिँदा कांग्रेसको १४औँ महाधिवेशन फेरि अन्योलमा परेको छ । बढ्दो कोरोना संक्रमण र तरल राजनीतिक घटनाक्रमकोे प्रभाव कांग्रेसको महाधिवेशन तयारीमा देखिएको छ ।
नियमित कार्यकाल सकिएर थप गरेको डेढ वर्षको समयावधिसमेत गुज्रिन थालेपछि फेरि पनि महाधिवेशन हुँदैन कि भन्ने प्रश्न कांग्रेसभित्र उठ्न थालेको छ । शीर्ष नेता पूर्ववत् तालिकाअनुसार नै सैद्धान्तिक रूपमा भदौभित्रै महाधिवेशन गर्न सहमत देखिन्छन् । तर, सुस्त तयारी र महामारी संकटले महाधिवेशन अनिश्चित बनाइराखेको छ ।
कांग्रेसभित्र महाधिवेशनलाई लिएर नेताहरूबीच आरोप–प्रत्यारोप र आंशका छन् । संस्थापन पक्षले कोरोनाका कारण पूर्वतयारीका लागि अनुकूल वातावरण नबनेको बताएको छ । संस्थापनइतर पक्षका नेताहरूले पार्टी नेतृत्वले महाधिवेशन गर्न नचाहेको आरोप लगाउँदै आएका छन् ।
बाहिर हुन्छ–हुन्छ भन्ने, तर सकेसम्म अड्काएर राख्ने नियत देखियो : रामचन्द्र पौडेल, वरिष्ठ नेता
पार्टीमा जनमत अहिलेको नेतृत्वको विपक्षमा छ । अहिले चुनाव हुने हो भने मैले ठूलो परिवर्तन आउने देखेको छु । त्यसैको असर महाधिवेशनमा परेको छ । परिवर्तनको लहरलाई कसरी रोक्ने भनेर सारा कोसिस भइरहेको छ । आफैँले जित्ने भए मात्रै अधिवेशन गर्ने, नभए नगर्ने भन्ने मानसिकता देखिएको छ । बाहिर हुन्छ–हुन्छ भन्ने, तर सकेसम्म अड्काएर राख्ने नियत देखाइएको छ ।
कार्यतालिका सच्याउनुपर्छ, भदौमा महाधिवेशन हुन्छ, गर्नुपर्छ : विमलेन्द्र निधि, उपसभापति
६७४३ वडामा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम गरेर जिल्ला हुँदै केन्द्रमा संकलन हुने प्रक्रियामा छ । अब सदस्यताको टुंगो लागिसकेपछि महाधिवेशनको प्रक्रिया अघि बढ्छ । तर, केन्द्रीय महाधिवेशनको मिति फेरबदल नहुने गरी अरू कार्यतालिका सच्याउनुपर्छ । संक्रमण र निषेधाज्ञाका कारण छलफलले गति पाएको छैन । तर, भदौमा महाधिवेशन हुन्छ, गर्नुपर्छ ।
महाधिवेशनका लागि कोरोना महामारी मुख्य बाधक बनेको छ : कृष्णप्रसाद सिटौला
महाधिवेशनका लागि कोरोना महामारी मुख्य बाधक बनेको छ । तैपनि पार्टीको महाधिवेशन कुनै पनि तवरले भदौभित्र गर्नैपर्ने अवस्था छ । अहिले क्रियाशील सदस्यताको विषय ठूलो समस्या हो जस्तो लाग्दैन । त्यो त छानबिन समितिले टुंग्याउँछ भन्ने लाग्छ । अर्को खास अवरोध भनेको चाहिँ अहिलेको महामारी नै हो । त्यसलाई चिरेर जाने मुख्य चुनौती हो ।
महाधिवेशनलाई बेवास्ता गर्ने सुविधा छैन, त्यो क्षम्य हुँदैन : डा. शेखर कोइराला
पार्टीको विधान र संविधानले दिएको सबै समयावधि उपभोग भइसकेको छ । भदौमा पनि महाधिवेशन भएन भने पार्टीको वैधानिकता रहँदैन । अब कोरोनाको बहाना बनाएर महाधिवेशनलाई रोक्न छुट छैन । बहाना बनाउनुभयो भने महाधिवेशन गर्ने इच्छाशक्ति नभएको पुष्टि हुन्छ । अहिले सत्ताभन्दा महाधिवेशन टड्कारो हो । महाधिवेशन बेवास्ता गर्ने सुविधा छैन, क्षम्य हुँदैन । याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।
