स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्षसम्म कैद र तीन लाख जरिवाना(अध्यादेशको पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा अध्यादेश जारी गरेकी हुन् । कोभिड महामारीमा खटिएका स्वास्थ्यकर्मीमाथि श्रृंखलाबद्ध आक्रमण हुन थालेपछि सरकारले अध्यादेश जारी गरेको हो ।

अध्यादेशमा स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेमाथि तीन वर्षसम्म कैद र तीन लाख जरिवानाको व्यवस्था गरिएको छ । कसैले कुनैपनि स्वास्थ्य उपचारको विषयलाई लिएर स्वास्थ्य संस्थामा आगजनी/तोडफोड/तालाबन्दी/घेराउ गरे त्यस्तो व्यवहारलाई अध्यादेशले दण्डनीय मानेको छ ।

अध्यादेशमा स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्याएमा पनि तीन वर्ष कैद वा तीन लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ । यस्तै अध्यादेशमा स्वास्थ्य संस्यामा आगजनी गरे दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाख रुपियाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

यसैगरी स्वास्थ्य संस्थामा तालबन्दी गर्न वा घेराउ गरे, स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमको बाधा पुर्याए वा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न कुनै किसिमको धम्कि दिए, गालीगलौच गर्न वा अभद्र र अपमानजनक व्यवहार गर्न गरे एक वर्षसम्म कैद वा एक लाख रुपियाँ जरिवाना वा दुवै सजायको व्यवस्था गरिएको छ ।

यस्तै स्वास्थ्य संस्थाको सम्पत्ती तोडफोड, आगजनी, वा हानी नोक्सानी गरी क्षति पुर्याएमा त्यसरी भएको क्षति बराबरको रकम भराउनुपर्ने उल्लेख अध्यादेशमा गरिएको छ ।

अध्यादेशमा स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धमा समन्वयात्मक रुपले काम गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका १२ औं तहका कर्मचारी अध्यक्ष रहेका स्वास्थ्य तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति गठन हुने व्यवस्था गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *