काठमाडाैँ । सत्तारूढ दल नेकपा एमालेभित्रको आन्तरिक विवादमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसँग संवाद नगरी दोस्रो तहका नेताहरूसँगको संवादले मात्रै टुंगोमा पुग्न नसकिने निष्कर्ष निकालेको छ । पछिल्लोपटक अनौपचारिक संवादमा रहेका दोस्रो पुस्ताका नेताहरूले मात्रै कुराकानी गरेर एकताको सम्भावना नदेखिएकाले नेपालसँगै बसेर गहन छलफल गर्नुपर्ने निष्कर्ष सो पक्षले निकालेको हो ।
ओली पक्षले सकेसम्म नेपालसँगै औपचारिक–अनौपचारिक कुराकानी गरेर पार्टी एकतालाई जोगाउन सकिने भन्दै नेपालसँगको संवादलाई महत्व दिएको हो । ‘हामी निरन्तर संवादमै छौं । पार्टी विभाजन हुनुहुँदैन भन्ने पक्षमा पार्टीका सबै तह छन् । त्यसकारण संवादलाई नै जोड दिइएको हो । आशा गरौं, संवादले निकास निस्कन्छ,’ उपप्रधानमन्त्रीसमेत रहेका विष्णु पौडेलले भने ।
नेपाल पक्षको भर्चुअल बैठकले पनि सकेसम्म पार्टी विभाजनलाई रोक्नुपर्ने तर समस्या समाधानको बल भने ओली कोर्टमा रहेको निष्कर्ष निकालेको छ । त्यहीबेला औपचारिक–अनौपचारिक संवादको माध्यमबाट नेपाल पक्षलाई पार्टीबाट बाहिर पठाउन नहुने र सकेसम्म अन्तिम समयसम्म एकताको पहल गर्नुपर्ने निष्कर्षमा ओली पक्ष पनि पुगेको हो । ‘निरन्तरको संवादपछि नै निष्कर्षमा पुग्न सकिन्छ भन्ने हाम्रो धारणा छ। अहिले नै निराश हुनुपर्दैन,’ उपप्रधानमन्त्री पौडेलले भने।
‘पछिल्लोपटक माधव नेपालसँगै विभिन्न चरणमा संवाद नगरी दोस्रो तहका नेताहरूसँगको संवादले कुनै निष्कर्षमा पुग्न सकिँदैन । नेपालसँगै सहकार्य गरे पार्टी बलियो र ठूलो हुनेछ भन्ने हाम्रो धारणा हो । यसमा एकपटक होइन, धेरैपटक नेपाललाई आश्वस्त पार्नुपर्ने हुन्छ,’ ओली पक्षबाट संवादका लागि प्रयासरत एक नेताले भने ।
उनका अनुसार कमजोरी एकातिरबाट मात्र भएको छैन भन्ने स्वीकार भयो भने समस्या सुल्झाउन कठिन हुँदैन । ‘दुवै तर्फबाट इमानदार ढंगले कमजोरी स्वीकार भए पार्टी एकता सम्भव छ । हामी यो प्रयासमा छाैं । भोलिका दिनमा एक्लै हिँडेर कहीँ पुगिँदैन । मुख्य कुरा नेताहरूको व्यवस्थापनको विषय हो । नेताहरूको व्यवस्थापन भए समस्या सुल्झिन्छ,’ उनले भने ।
खासगरी अबको निर्वाचनमा कसको हैसियत के हुन्छ भन्नेबारे खुलस्त कुरा भए समस्या सुल्झन समय नलाग्ने ती नेताको भनाइ छ । फरक विचार समूहमा रहेका साथीहरू पनि नयाँ दल खोल्ने पक्षमा नभएकाले संवादलाई नै अघि बढाउने पक्षमा ओली समूहका नेताहरूले जोड दिएकाे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।
