‘ससर्त पुरानो कमिटी ब्युँताउन ओली तयार’

काठमाडाैँ । आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन् । माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न ओली सहमत भएको एमाले उच्च स्रोतले जानकारी दिएको छ ।

विवाद मिलाउन सक्रिय आफू पक्षधर नेताहरूसँग ओलीले आफू पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन तयार रहेको तर त्यसका लागि नेपाल समूह पार्टीमै रहने विषयमा विश्वासिलो आधार बन्नुपर्ने बताएका छन् । यसो भएमा वक्तव्य निकालेर पार्टी पुरानै अवस्थामा फर्किएको घोषणा गरी त्यति बेलाको स्थायी कमिटीको बैठक राख्न आफू तयार रहेको उनले जनाएका छन् । नेपाल समूहका तर्फबाट मध्यस्थता गरिरहेका दोस्रो पुस्ताका नेताले पनि यसबारे जानकारी दिएर नेता नेपाललाई मनाउन प्रयास गर्ने बताएको स्रोतको दाबी छ ।

सोमबार साँझ काठमाडौंको याक एन्ड यती होटलमा दुवै पक्षका नेताबीच भएको संवादमा पार्टीलाई कुनै पनि हालतमा विभाजनको बाटोमा लैजान नहुने र यसका लागि ओली र नेपाललाई सहमति गराउने प्रतिबद्धता व्यक्त भएको थियो । संवादमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण बिष्ट सहभागी थिए । राति अबेरसम्म भएको बैठकले उनीहरूबीच पुरानो संरचना र पार्टीको वर्तमान अवस्थाबारे समेत छलफल भएको स्रोतले जनाएको छ।

‘अहिले नै परिणाम हात परेको छैन । हामी अझै आशावादी छौं । कहिलेकाहीं सडकको डिलमा पुगेको गाडीलाई ब्याक गरेर बचाउन सक्ने अवस्था हुन्छ। अहिले हामी दुवै नेता ब्याक हुनसक्ने अवस्था केके छन्, त्यसबारेमा छलफल गरिरहेका छौं’, संवादमा सहभागी एक नेताले भने । उनका अनुसार जेठ ९ गते मिलिसकेको कुराकानी बिग्रेकाले यसपटक वार्तारत नेताहरूले केके विषयमा छलफल भएको छ भन्ने जानकारी आफ्नो समूहका शीर्ष नेतालाई पनि गराएका छैनन् । उनीहरूले ‘कुराकानी हुँदैछ’ मात्रै भनिरहेका छन् ।

‘यसबीचमा भएगरेका कार्यलाई कमजोरीका रूपमा स्विकार्ने, अब आइन्दा यस्ता कमजोरी नगर्ने, पार्टी विधि र विधानअनुसार सञ्चालन गर्ने’ बेहोरा राखी ओली र नेपालले संयुक्त वक्तव्य जारी गर्नेसम्मको तयारी रहेको स्रोतको दाबी छ । नेता नेपालले पार्टी एकता बचाउने जिम्मेवारी लिएका सबै नेतालाई एक साताभित्र निर्क्याैलमा पुग्न आइतबार निर्देशन दिएका थिए । ‘ओलीसँग सहज लाग्छ भने मलाई भन्नु केही छैन होइन भने विवाद मिलाउने कुरा गरेर अलमल नगर्नुस् भनेको छु’, आफू निकट रहेका विद्यार्थीको बैठकमा नेता नेपालले भनेका थिए ।

एकता बचाउने कोसिसमा रहेका नेता गोकर्ण बिष्टलाई सहमति गर्ने वा नगर्नेबारे प्रधानमन्त्री केपी ओलीसँग अन्तिम छिनोफानो गर्न निर्देशन दिएको सन्दर्भ उनले जोडेका थिए । त्यसपछि ओलीले सोमबार बस्ने भनिएको स्थायी कमिटी बैठक मंगलबारलाई सारेका थिए । सोही अनुसार मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पनि जेठ १० गते स्पष्टीकरण सोधिएका नेतालाई थप कारबाही गर्ने विषयमा कुनै छलफल गरेन । बैठकको धेरै समय बजेट भाषणबारेको चर्चामा बित्यो ।

बैठकमा विवाद निरूपणका लागि गठित कार्यदल र पछिल्लो समयमा भइरहको संवादबारे सामान्य छलफल भएको थियो । बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले एकताका लागि अन्य संयन्त्रबाट पहल भइरहेको बताए । विवाद समाधानका लागि बनेको कार्यदलमा नेपाल पक्षबाट संयोजक रहेका भीम रावल पार्टीको साधारण सदस्यबाटै निष्कासित भएपछि कार्यदल अलपत्र परेको थियो । यसबीचमा दुवै पक्षबीच भएका संवादमा भीम रावल र शंकर पोखरेल सहभागी छैनन् । प्रवक्ता ज्ञवालीले पार्टी विभाजन रोक्न आफूहरूले प्रयास जारी राखेको बताए ।

जेठ १० गते बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र झलनाथ खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्कालाई पार्टीबाट निष्कासनको निर्णय गरेको थियो भने केहीलाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो ।

मंगलबारको बैठकमा यसबारे कुनै निर्णय भएन । सोमबार साँझको संवादमा स्पष्टीकरण सोधिएका नेताहरूलाई थप कारबाही प्रकृया अघि नबढाई सबैले आआफ्ना कमजोरी स्वीकार गर्ने सहमति भएबमोजिम मंगलबारको बैठकमा यस विषयमा कुनै निर्णय नभएको बताइएको समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *