काठमाडौँ । नेपाली परम्पराअनुसार पानसमा दीप प्रज्ज्वलन गरी चीनको छन्तु सहरमा नेपाली महावाणिज्यदूतावासको उद्घाटन गरिएको छ ।
चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले नेपालकै हस्ताकला पानसमा बत्ति बालेर आज बिहान छन्तुस्थित नेपाली महावाणिज्यदूताबासको उद्घाटन गरेका हुन् । उद्घाटनलगत्तै उनले महावाणिज्यदूतावास परिसरमा नेपालको राष्ट्रिय झण्डा पनि फहराएका छन् ।
सो अवसरमा राजदूत पाण्डेले तीब्र विकास र नेपालसँगको सामिप्यताका कारण सिछुवानले नेपालीहरुलाई आकर्षित गर्दै आइरहेको भन्दै नेपालको लागि सिछुवान चीनको मुख्यभूमीसँगकाे सम्पर्कका लागि प्रमुख प्रवेशमार्ग भएको बताए ।
राजदूत पाण्डेले व्यापार, लगानी, पर्यटन, शिक्षा, संस्कृतिलगायतका क्षेत्रमा नेपाल र सिछुवान प्रान्त र छन्तु नगरबीचको आदान-प्रदान निरन्तरुपमा बढ्दै गइरहेको सन्दर्भमा नेपाली महावाणिज्यदूतावासको स्थापनाले अझ प्रगति हुने विश्वास व्यक्त गरे ।
नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेले नेपाल र चीनबीचको प्रचीन, विशेष र आपसी हितमा आधारित सम्बन्ध नेपाली नियाेगकाे स्थापनाले अझ प्रगाढ हुने भन्दै त्यसलाई थप प्रवर्द्धन गर्न स्रोत साधनाले सम्भव भएसम्मका सबै प्रयास आफूले गर्ने बताए ।
कार्यक्रममा सिछुवान प्रान्तका भाइसगभर्नर लि युन च, चिनियाँ कम्युनिस्ट पार्टीका सिछुवान प्रान्तका सचिव हु युन, परराष्ट्र मन्त्रालयका महानिर्देशक छुई आई मिन, छन्तु नगरपालिकाका मेयर वाङ फङ छाओलगायत विशिष्ट चिनियाँ अधिकारीहरूकाे उपस्थिति रहेकाे थियाे ।
सिछुवान प्रान्तकाे सदरमुकाम छन्तुमा स्थापना गरिएकाे यो महावाणिज्यदूताबास सँगै चीनमा नेपाली कूटनीतिक नियोग संख्या पाँच पुगेको छ । राजधानी बेइजिङमा राजदूताबासका अतिरिक्त क्वाङ्चौ (ग्वान्झाउ), ल्हासा (तिब्बत स्वायत्त प्रदेश ) र विशेष प्रशासनिक क्षेत्र हंगकंगमा महावाणिज्यदूतावास रहेका छन् । शङहाईमा भने अवैतानिक वाणिज्यदूत छन् ।
चीनसँगको कनेक्टिभिटी तथा पर्यटकीय दृष्टिकोणले छन्तु नेपालको लागि महत्त्वपूर्ण शहर हो । सिछुवान र लुुम्बिनी प्रान्त तथा छन्तु र काठमाडौँ महानगरबीच भगिनी सम्बन्ध स्थापित छ । छन्तुसँग जोडिएको छोङ्गछिङ्ग शहरमा नेपाल–चीन संयुक्त लगानीको हिमालय एअरलाइन्सले नियमित उडान गरिरहेको छ । कोरोना भाइरसको महामारीअघि छन्तुबाट एअर चाइना, सिछुवान एअर र तिब्बत एअरले काठमाडौँका लागि नियमित उडान भर्दै आइरहेका थिए ।
