काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष तीनवटा माग राखेको छ । अध्यक्ष उपेन्द्र यादवले आइतबार विज्ञप्ति जारी गरी शपथग्रहणमा भएको गल्ती सच्च्याउन, कोरोना नियन्त्रण प्रभावकारी बनाउन, राजदूत नियुक्ति संविधान बमोजिम समावेशी समानुपातिक सिद्धान्त अनुसार बनाउन माग गरेका हुन् ।
अध्यक्ष यादवले राष्ट्रपतिले उच्चारण गराएको शब्द उच्चारण नगर्नुले पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेकोले त्यो शपथग्रहण बदर गरी पुनः शपथग्रहण गर्न गराउन माग गरेका छन् ।
शुक्रवार प्रधानमन्त्रीको सपथग्रहणमा राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गरेको सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी ‘सत्यनिष्ठापूर्वक त्यो पर्दैन’ भनेर शपथग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गंभीर आँच पुगेको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी विज्ञप्तिमा राजदूत नियुक्तिमा समावेशी सिद्धान्त र मापदण्ड कार्यान्वयन गर्न पनि माग गरिएको छ ।
विज्ञप्तिमा नेपालको संविधानको धारा २८२ र २८३ मा समावेशी सिद्धान्तबमोजिम राजदूतहरू नियुक्ति गर्नुपर्ने व्यवस्था भएकोमा पटक–पटक राजदूतहरू नियुक्ति गर्दा समावेशी आधारमा नगरेको र त्यस्को मापदण्ड समेत उल्लङ्घन भएको उल्लेख छ।

