काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्मती प्रदेशसभाका सदस्य तथा नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्रीले बुधबार विज्ञप्ति जारी गरी यस दुःखद् घडीमा चौलागाईंप्रति श्रद्धासुमन अर्पणका साथ उनको निधनबाट शोकमा परेका आफन्त, परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेका छन् ।
प्रधानमन्त्री ओलीले चौलागाईंको निधनबाट पार्टीले एक असल र निष्ठावान् नेता तथा दोलखाका जनताले इमान्दार जनप्रतिनिधि गुमाएको बताएका छन् ।
कोभिड–१९ को सङ्क्रमणले मङ्गलबार उनको निधन भएको थियो । उनले भद्र, शालीन, मिलनसार छवि बनाएका चौलागाईंले जनताप्रति समर्पित जनप्रतिनिधिको भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।
“एमालेको नेतृत्वमा भएको मुलुकको लोकतान्त्रिक, प्रगतिशील आन्दोलन र समृद्ध मुलुक निर्माणको अभियानमा उहाँले पु¥याउनुभएको योगदानलाई पार्टीले सधैँ स्मरण गर्नेछ”, विज्ञप्तिमा भनिएको छ । चौलागाईं प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य र तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्षसमेत रहेका थिए ।
