प्रज्जवल थापा । इटालियन लिग सिरि ए मा एसी मिलान विजयी भएको छ । आइतबार राति भएको खेलमा मिलानले साविक विजेता युभेन्टसमाथि ३-० गोलको शानदार जित निकालेको हो ।
एल्लिनाज रंगशालामा भएको खेलमा मिलानलाई जित दिलाउन ब्राहिम डियाज, एन्टे रेबिक र फिकायो टोमोरीले एक/एक गोल गरे । पहिलो हाफको अतिरिक्त समयमा ब्राहिमले गोल गर्दै मिलानलाई खेलमा अगाडि बढाएका थिए । ५८ औं मिनेटमा फ्रान्क केसिए पेनाल्टीमा चुक्दा मिलानले खेलमा अग्रता दोब्बर बनाउने मौका गुमायो ।

तर ७८ औं मिनेटमा इस्माएल बेन्नासेरको पासमा रेबिकले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए । यस्तै ८२ औं मिनेटमा काल्हेन्ग्लुको पासमा टोमारीले गोल गर्दै मिलानलाई ३-० गोलको शानदार जित दिलाए । जितसँगै मिलान ३५ खेलबाट ७२ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट ६९ अङ्क जोडेको युभेन्टस पाँचौ स्थानमा छ ।
