बुटवल लुम्बिनी एनएसएलको प्लेअफमा, पोखरा बाहिरियो

प्रज्जवल थापा । बुटवल लुम्बिनी एफसी पहिलो संस्करणको फ्रेन्चाइज फूटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग(एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ । शनिबार भएको दिनको दोस्रो खेलमा बुटवलले शिर्षस्थानको धनगढी एफसीलाई १-० गोलले पराजित गर्दै प्लेअफ पुग्ने चौथो टोली बनेको हो ।

बुटवलको जितसँगै पोखरा थन्डर्स समुहचरणबाटै बाहिरिएको छ । हिजो(शुक्रवार) भएको खेलमा पोखराले चितवनलाई २-१ गोलले हराउँदै प्लेअफको सम्भावना जिवित राखेको थियो । तर ६ खेलको समाप्तिमा दुवै बुटवल र पोखराको समान ८ अङ्क भएपनि बुटवल हेड टु हेडमा अगाडि रहँदै प्लेअफ प्रवेश गर्दा पोखरा सम्भावना तुइएको हो ।

आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बुटवललाई जित दिलाउन सुमन लामाले एक गोल गरे । खेलको ८० औं मिनेटमा सुमनले गरेको गोल बुटवलको जितमा निर्णायक बन्यो । बुटवलको जितसँगै प्लेअफ पुग्ने सबै टोलीको टुङ्गो लागेको छ ।

धनगढी र काठमाडौं यसअघिनै प्लेअफ प्रवेश गरिसकेका थिए भने आज भएको पहिलो खेलमा विराटनगर एफसीलाई ४-० गोलले हराउदै ललितपुर प्लेअफ पुग्ने तेस्रो टोली बनेको हो । यस्तै बुटवल लुम्बिनी प्लेअफ पुग्ने चौथो टोली बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *