प्रज्जवल थापा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल ‘आईसीसी प्लेयर अफ दि मन्थ’को मनोनयनमा परेका छन् । बुधबार अन्तराष्ट्रिय क्रिकेट परिषद्(आईसीसी) ले सार्वजनिक गरेको अप्रिल महिनाको उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा नेपालका कुशलसहित पाकिस्तानका फखर जमान र बाबर आजम परेका हुन् ।
एक हप्ता अगाडि घरेलु मैदानमा नेपाललाई त्रिकोणात्मक टि-२० आई सिरिज जिताउन कुशलले महत्त्वपूर्ण भुमिका खेलेका थिए । नेपालले फाइनल खेलमा नेदरल्याण्ड्सलाई १ सय ४२ रनले पराजित गर्दै ११ वर्षपछि घरेलु मैदानमा उपाधि उचालेको थियो । कुशलले प्रतियोगिताको पाँच खेलमा ४ अर्धशतक सहित २ सय ७८ रन बनाएका थिए । डेब्यु गर्दै लगातार तीन टि-२० खेलमा अर्धशतक बनाउने विश्व कीर्तिमानपनि कुशलले आफ्नो नाममा लेखाएका थिए ।

यस्तै पाकिस्तानका ओपनर फखर जमानले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिजको ३ खेलमा २ शतक सहित ३ सय २ रन बनाएका थिए । पाकिस्तानका कप्तान बाबर आजमलेपनि दक्षिण अफ्रिकाविरुद्धको ३ ओडिआईमा २ सय २८ रन र ४ टि-२० आईमा ३ सय ५ रन बनाएका थिए ।
महिलातर्फ न्युजिल्याण्डकी लिगथ कास्पेरेक र अस्ट्रेलियाका अल्यसा हेएली र मेगान स्चुट अप्रिल महिनाको उत्कृष्ट महिला खेलाडीको मनोनयनमा परेका छन् । विजेताको घोषणा पुर्व खेलाडी, पत्रकार, ब्रोडकास्टर र समर्थकको भोटबाट गरिनेछ ।
भोट गर्नको लागि यहाँ क्लिक गर्नुहाेस् ।
