प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आईपिएल) मा सनराइजर्स हैरबादले पाँचौ हार बेहोरेको छ । बुधबार बेलुकी भएको खेलमा चेन्नई सुपर किङ्सले हैरबादलाई ७ विकेटले पराजित गरेको हो ।
जितको लागि १ सय ७२ रनको लक्ष्य पछ्याएको चेन्नईले १८.२ ओभरमा ३ विकेटको क्षतिमा १ सय ७३ रन बनाउँदै लक्ष्य भेट्टायो । चेन्नईको लागि दुवै ओपनरले अर्धशतक पूरा गरे । रुतुराज गैकवाडले ४४ बलमा १२ चौकाको मद्दतमा सार्वधिक ७५ रन जोडे । अर्का ओपनर फाफ डु प्लेसिसले ३८ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५६ रन बनाए । यस्तै टोलीको जितमा सुरेश रैनाले १७, मोइन अलीले १५ र रविन्द्र जडेजाले ७ रनको योगदान गरे ।
हैरबादको लागि रसिद खानले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गर्न मैदान उत्रिएको हैरबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७१ रन जोडेको थियो । हैरबादको लागि मनिष पाण्डे र कप्तान डेभिड वार्नरले अर्धशतक पूरा गरे । मनिषले ४६ बलमा ५ चौका र १ छक्काको मद्दतमा सार्वधिक ६१ रन जोडे । कप्तान डेभिड वार्नरले ५५ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५७ रन जोडे । यस्तै चौथो नम्बरमा ब्याटिङ गर्न आएका केन विलियम्सनले १० बलमा ४ चौका र १ छक्काको सहयोगमा २६ रन जोड्दा केदार ज्यादवले १२ र जोनी बैर्स्ट्रोले ७ रन जोडे ।
चेन्नईको लागि लुन्गि न्गिदिले ४ ओभरमा ३५ रन दिएर २ विकेट लिए । साम कुरानले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । जितसँगै चेन्नई ६ खेलबाट १० अङ्क जोड्दै अङ्क तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । पराजित हैरबाद ६ खेलबाट २ अङ्क जोड्दै लिगको पुछारमा छ ।
