मूल्यवृद्धि नगरी सर्वसाधारणलाई सेवा प्रदान गर्न व्यवसायीलाई महासंघको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले संकटका बेला अनावश्यक मूल्यवृद्धि नगरी सर्वसाधारणलाई सेवा प्रदान गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ ।

महासंघले अपील गरी आवश्यक सामग्रीको आपूर्ति एवं वितरणका लागि उद्यमी व्यवसायी निरन्तर क्रियाशील रहेको जनाउँदै आमउपभोक्तालाई पनि अनावश्यक खाद्यान्न सञ्चय नगर्न आग्रह गरेको हो । निषेधाज्ञाका कारण रोजगारी गुमाएका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई राहतको व्यवस्था गर्न महासंघले सरकारसँग आग्रह गरेको छ ।

महासंघले सरकार, निजी क्षेत्रसहित सवैको अहिलेको प्रमुख दायित्व संक्रमणलाई फैलिन नदिई अर्थतन्त्रलाई पनि चलायमान बनाउनु रहेको उल्लेख छ ।

अपीलमा भनिएको छ, ‘जनताको स्वास्थ्य सुरक्षाका लागि सरकारले चालेका सबै प्रयासमा सदाझै सहयोग गर्ने निजी क्षेत्रको प्रतिबद्धता छ । निषेधाज्ञाका समयमा आमजनताको दैनिक जीवनयापन सहज बनाउन, दैनिक आवश्यकता पूरा गर्न, अत्यावश्यक खाद्यान्नलगायत स्वास्थ्य सामग्रीको बजारमा सहज आपूर्तिमा निजी क्षेत्र सरकारसँगै छ ।’

उच्चतम स्वास्थ्य सतर्कताका साथ स्वास्थ्य सुरक्षाका सबै उपाय अलवम्बन गरी निषेधाज्ञाको समयमा पनि रोजगारी नगुम्ने र आर्थिक गतिविधि सञ्चालन सहज बनाउने वातावरणका लागि सरकार र निजी क्षेत्रको थप सहकार्य आवश्यक रहेको अपीलमा उल्लेख छ ।

अपीलमा भनिएको छ, ‘कोराना महामारीको पहिलो लहर र त्यसलाई रोक्न लगाइएको लकडाउन र निषेधाज्ञाले अर्थतन्त्रमा पुर्याएको क्षति सर्वविदितै छ । गत आर्थिक वर्षमा १.९९ र चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४.६ प्रतिशतले अर्थतन्त्र ऋणात्मक रह्यो ।’ यस्तो अवस्थामा आर्थिक महत्त्व बोकेका ठूला परियोजनाको निरन्तर सञ्चालनको सुनिश्चितता, उद्योग कलकारखानाको सञ्चालन आवश्यक रहेको महासंघले जनाएको छ । उत्पादित सामानको सहज आपूर्ति, ढुवानी, बिक्रीवितरण, कच्चा पदार्थको आयातमा सहजतासहित उद्योग व्यवसाय सञ्चालनका लागि आवश्यक कर्मचारीको आवतजावतलाई सहज बनाउन महासंघले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *