पर्साको ठोरीमा पाटे बाघ मृत फेला

वीरगंज । पर्साको ठोरी गाउँपालिका वडा नम्बर तीन रामनगर नजिकै एउटा बयस्क पाटे बाघ मृत फेला परेको छ । रामनगरको रामबुद्ध सामुदायिक वन क्षेत्रभित्र शनिवार साँझ पाटे बाघ मृत फेला परेको हो ।

सामुदायिक वनभित्र गाईवस्तु चराउन गएका स्थानीयले मृत बाघ देखेपछि निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिलाई खबर गरेका थिए । मृत बाघलाई शनिवार राति नै चितवन राष्ट्रिय निकुन्ज प्रशासनले कसरा लगेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बाल कुमार बस्नेतले जानकारी दिए । बाघको मृत्युको कारण भने खुली नसकेको उनले जानकारी दिए ।

बाघको अवस्था हेर्दा उक्त बाघ पहिलेदेखि नै घाइते भएको हुन सक्ने र सोही कारण मानिसलाई आक्रमण गरेको हुन सक्ने अध्यक्ष बस्नेतले बताए । सोही सामुदायिक वन क्षेत्रमा बितेको बिहीबार सोही बाघको आक्रमणमा परी रामनगरका पुर्ण बहादुर तामाङ घाइते भएका थिए । यस्तै सोही दिन रामनगरका स्थानीयको आधा दर्जन भन्दा बढी खसीबाख्रा बाघले मारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *