काभ्रेखोला–देवीथानमुहान–कटहरे सिँचाइ कुलो निर्माण अलपत्र

खोटाङ । काभ्रेको जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीको खुटामा सञ्चालित काभ्रेखोला–देविथानमुहान–कटहरे सिँचाइ कुलो निर्माणको काम अलपत्र बनेको छ । सिँचाइ कुलो निर्माण योजनाको रकम अनियमितता गरेको आरोप खेप्दै आएका निर्माण उपभोक्ता समितिका अध्यक्ष गोविन्द लामाले गत फागुन २४ गते पदबाट राजीनामा दिएपछि उक्त योजनाको बाँकी काम अलपत्रको बनेको हो ।

उपभोक्ता समितिका अध्यक्ष लामाले योजनाको रकम आफूखुशी खर्च गरेको, सोधखोज गर्दा योजनाको स्टिमेट, बिल–भर्पाइ, हिसाब–किताबलगायतका बारेमा समेत जानकारी नदिएको उपभोक्ताले गुनासो गरेका छन् । नेपाली कांग्रेस खोटाङका युवा नेता बाजिन्द्र विष्टको पहलमा सिँचाइ मन्त्रालयको बजेटमा आर्थिक वर्ष २०७३/७४ देखि सिँचाइ कुलो निर्माण योजना शुरु भएको थियो ।

सोही योजनाअन्तर्गत पक्की कुलो निर्माणका लागि आर्थिक वर्ष २०७७÷७८ मा भौतिक पूर्वाधार जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दिक्तेलमार्फत २० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । सोही बजेटको पारदर्शिताका विषयमा स्थानीय बासिन्दाले प्रश्न उठाएपछि अध्यक्ष लामाले राजीनामा दिनुभएको हो । उपभोक्ता समितिका अध्यक्ष लामाले समितिका अन्य पदाधिकारीसँग समेत समन्वय नगरी योजनाको काममा एकलौटी ढङ्गले खर्च गर्ने गरेको समितिका सदस्य चण्डीराज विश्वकर्माले बताए ।

“हामी समितिमा बसेकालाई समेत कति बजेट आयो, कसरी खर्च गर्ने, कति खर्च भयो, बाँकी कति छ भन्ने जानकारी दिनुभएन”, उलने भने, “एकलौटी ढङ्गमा अध्यक्ष लामाले आफ्नो खेततिर जाने कुलो बनाउने काम गर्नुभयो । भुक्तानी लिन जाने बेला सही गर्नुपर्छ भन्नुभयो, हामीले मानेनौँ ।”

उपभोक्ता समितिका अध्यक्ष लामाको राजीनामा आएपछि कार्यवाहक वडाध्यक्ष धनबहादुर राईको उपस्थितिमा गत फागुन २७ गते स्थानीयवासी टङ्कराम तामाङको अध्यक्षतामा पुनः उपभोक्ता समिति गठन गरिएको छ ।

तामाङको अध्यक्षतामा चैत ९ गते बसेको बैठकले योजनाको बाँकी कामको सम्झौताका लागि भौतिक पूर्वाधार जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दिक्तेल जाने निर्णय गरे पनि अहिलेसम्म उक्त योजनाको काम हुने वातावरण बनेको छैन ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका प्रमुख मेघराज ज्ञवालीले पुरानो समितिलाई भुक्तानी हुने वातावरण बनेपछि मात्र नयाँ उपभोक्ता समितिसँग सम्झौता हुने बताएका छन् ।

“पुरानो उपभोक्ता समितिबाट भएको कामको भुक्तानी पुरानै समितिको नाममा हुन्छ । नयाँ समितिबाट भएको कामको रकम नयाँ समितिको नाममा जान्छ”, उनले भने, “पुरानो समितिबाट करिब पाँच लाख बराबरको काम भएको प्राविधिक स्टिमेटमा देखिएको छ । सिँचाइ योजनाका बारेमा विवाद हुनुका पछाडि राजनीति पनि घुसेको हुनसक्ने अनुमान गरिएको छ ।”

यसबारेमा प्रतिक्रिया लिन टेलिफोन सम्पर्क गर्दा काभ्रेखोला–देविथानमुहान–कटहरे सिँचाइ कुलो निर्माण योजना उपभोक्ता समितिका निवर्तमान अध्यक्ष लामाले फोन उठाएनन् । काभ्रेखोला–देवीथानमुहान–कटहरे सिँचाइ कुलो निर्माण आयोजनाको दुई हजार ७०० मिटर लामो पक्की सिँचाइ कुलो निर्माणका लागि बजेट आएको हो ।

कुलोलाई साउनेपाटो खोल्सीबाट अगाडि बढाउनुपर्नेमा सिधै तल झारेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नै नगरिएको ठाउँमा १०४ मिटर कुलो निर्माण गरिएको स्थानीय बासिन्दाको भनाइ छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन प्रमुख ज्ञवालीले भने १०४ मिटर कुलो मूलकुलो नभई शाखा कुलो भएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *