श्रम मन्त्रीको आदेशमा अवैध काम रोक्न खोज्ने महानिर्देशककाे सरुवा

काठमाडौँ । अवैध काम गर्ने मेनपावरलाई कारवाही गरेका वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल सरुवा भएका छन् । मेनपावर व्यवसायीको दबाब र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीको दबाबमा उनको सरुवा भएको विभागका कर्मचारी बताउँछन् ।

महानिर्देशकको नेतृत्वमा एसओएस मेनपावरको अवैध कामविरुद्ध विभागले कारवाही गरेकोमा मन्त्री चौधरीले एकलौटी रुपमा रोक्का फुकुवा गरेका थिए । यसैगरी नेपाल रोजगार व्यवसायी संघका उपाध्यक्ष कमल तामाङले समेत सार्वजनिक रुपमै विभागले मेनपावरविरुद्ध कारवाही तीव्र बनाए महानिर्देशक दाहालको सरुवा गर्ने बताउँदै आएका थिए ।

एसओएस मेनपावरको कारवाही फिर्ता लिन र विभागले बढाएको कारवाही प्रक्रियाविरुद्ध व्यवसायीले सार्वजानिक रुपमा नै महानिर्देशकको सरुवा गर्न दिएको अभिव्यक्तिले व्यवसायी र मन्त्रीको दबाबमा दाहाललाई हटाइएको प्रष्ट देखिएको छ । विभागका पूर्व महानिर्देशक पूर्णचन्द्र भट्टराईले कर्मचारीको सरुवालाई सामान्य रुपमा लिनुपर्ने भए पनि विभागको अनुगमन गर्ने अधिकारलाई अर्को पक्षले हस्तक्षेप गर्ननहुने र विभागले प्रक्रिया पु¥याएर अनुगमनको काम गर्नुपर्ने बताए ।

केही समयअघि वैदेशिक रोजगार व्यवसायीको नेतृत्वमा गएको व्यवसायीको समुहले विभिन्न माग राख्दै मेनपावरविरुद्ध कारवाही नगर्न ज्ञापनपत्र बुझाएका थिए । स्रोतका अनुसार, व्यवसायीले एसओएस मेनपावर कम्पनीको कारवाही फिर्ता लिन महानिर्देशक दाहाललाई घुसको अफर गरे पनि महानिर्देशकले अस्वीकार गरेपछि व्यवसायी मन्त्रीसम्म पुगेर कारवाही फिर्ता लिन सफल भएका हुन् । यही कारण दाहालको सरुवा भएको मन्त्रालयसम्वद्ध स्रोतले जानकारी दियो ।

विभागका तत्कालीन महानिर्देशक दाहालले अवैध काम गर्ने मेनपावर, अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने संस्था र व्यक्तिलाई कारवाही नगर्न मन्त्रालय स्तरबाट दबाब आउने गरेको बताए । “मैले वैदेशिक रोजगार ऐन अनुसार लाखौं श्रमिकको हितका लागि अवैध काम गर्ने मेनपावर र अन्य संस्थामा अनुगमन बढाउँदै आएको थिएँ ।” तत्कालीन महानिर्देशक दाहालले कारोबारसँग भने, “वैदेशिक रोजगार विभागको कार्यक्षेत्रभित्र गर्ने कारवाही प्रक्रियालाई ओभर साइट गरेर काम गर्ने प्रवृत्ति देखिएको छ ।”

कुनै सरकारी निकायमा काम गर्ने कार्मचारी सरुवा गरिनु कर्मचारीतन्त्रभित्रको सामान्य प्रक्रिया भए पनि कानुनअनुसार कारवाही प्रक्रिया गर्ने गरेकै अवस्थामा आफूअनुकुल कर्मचारी ल्याउन गरिएको सरुवामा भने नियत देखिएको जानकारहरु बताउँछन् । मेनपावर विरुद्ध कारवाही अघि बढाउन महानिर्देशक दाहाललाई सहयोग गर्ने विभागका निर्देशक टिकामणी नेउपानेलाई एक वर्ष नपुग्दै वैदेशिक रोजगार बोर्ड काज सरुवा गरिएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले विभागका महानिर्देशक सरुवा गर्ने अधिकार व्यवसायीको नभएको बताउँदै विभागको महानिर्देशक पदमा सामान्यता १ वर्ष भित्रै सरुवा हुने गरेको जिकिर गरे । विभागमा हालसम्म आएका २ दर्जन महानिर्देशकहरुमध्ये सबैभन्दा बढी समय बस्ने कार्यालय प्रमुख दाहाल नै रहेको उनले दावी गरे ।

व्यवसायीहरुले लामो समयदेखि फ्रि भिसा र फ्रि टिकटको अव्यवहारीक नियम खारेज गर्न श्रम मन्त्रालयलाई अनुरोध गर्दै आए पनि फाइल नै लुकाएर व्यवसायीलाई बेवास्ता गरेको महासचिव श्रेष्ठले आराप लगाए । सरकारले इजरायल, कोरिया र जापान जान १ लाख रुपैयाँभन्दा बढी सेवा शुल्क लिन पाउने नियम बनाए पनि निजी क्षेत्रले भने १० हजार रुपैयाँमा पठाउनुपर्ने बाध्यकारी नियम बनाएर व्यवसायीलाई मर्कामा पारेको उनको भनाइ रहेको समाचार कारोबार दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *