नेपालबाट चोरी गरी अमेरिका पुर्याएको लक्ष्मी नारायणको मूर्ति अमेरिकाद्वारा फिर्ता

काठमाडौं । नेपालबाट चोरी गरी अमेरिका पुर्याएको लक्ष्मी नारायणको मूर्ति अमेरिकी सरकारले नेपाललाई फिर्ता गरेको छ । नेपालस्थित अमेरिकी मिसन, अमेरिकी र नेपाली विभिन्न निकायहरू, डल्लस म्युजियमको संयुक्त प्रयास तथा युनाइटेड पार्सल सर्भिसको यातायात सहयोगमा सो कलाकृतिहरू बिहीबार नेपाल आइपुगेको हो ।

नेपाल आईपुगेको लक्ष्मी–नारायणको मूर्ति एक कार्यक्रममा बीच ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई दूतावासले हस्तान्तरण गरेको छ ।

दूतावासले भनेको छ, ‘काठमाडौं उपत्यका यो समयमा विभिन्न जात्रा र वसन्त ऋतुले गर्दा रङ्गीन देखिने गर्छ, यो समयलाई सही तरीकाले मनाउन नेपालबाट हराएका ऐतिहासिक लक्ष्मी–नारायणको मूर्तिलाई आफ्नो पहिलेकै स्थानमा पुनःस्थापित गर्नेभन्दा उत्तम उपाय के हुनसक्ला ?’

३७ वर्षअघि नेपालबाट चोरिएको लक्ष्मीनारायणको मूर्ति अमेरिकाको फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) का टिमोथी एन ड्युनह्यामले अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडालाई हस्तान्तरण गरेको थियो । १२ औं र १५औं शताब्दीबिचको उक्त मूर्ति सन् १९८४ मा हराउनुअघि पाटनमा थियो । नर र नारीको संयुक्त स्वरूप धारण गरेका देवताको उक्त दुर्लभ मूर्तिको दायाँ भागले नारायण र बायाँ भागले लक्ष्मीको प्रतिनिधित्व गरेको छ ।

हराएको ६ वर्षपछि लिलाम बिक्री भएको उक्त मूर्ति पछि डल्लास म्युजियम अफ आर्टलाई अस्थायी रूपमा उपलब्ध गराइएको थियो । दूतावासका अनुसार एक परियोजनाका लागि नेपालबाट चोरिएका कलाकृतिको खोजी गर्ने कार्यमा संलग्न कलाकार जोय लिन डेभिसले दुई वर्ष पहिले तस्बिर खोजीका माध्यमबाट उक्त मूर्ति डल्लास म्युजियम अफ आर्टमा रहेको तथ्य फेला पारेका थिए । त्यस लगत्तै फिर्ताको प्रक्रियाहरु सुरु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *