भुर्केलागाउँका ३५ घरपरिवार विस्थापित

डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ भुर्केलागाउँमा आएको पहिरोले ३५ घरपरिवार विस्थापित भएका छन् ।

सो वडामा गाउँ माथि तल दुवैतिरबाट पहिरो जाँदा उनीहरु विस्थापित भएको प्रहरीचौकी डौडले जनाएको छ । लगातारको वर्षाका कारण पहिरोले गाउँ नै जोखिममा भएकाले स्थानीयवासी अहिले घर छाडेर माथिको अग्लोडाँडामा पाल टाँगेर बसेको स्थानीयवासी दीपकबहादुर खड्काले बताए । उनले भने “केही दिनयतादेखि परेको लगातारको वर्षाले बस्ती नै पहिरोले बगाउने डरले गाउँले गाउँ छाडेर सुरक्षित स्थानतर्फ गएका छन् ।”

पहिराले उक्त गाउँका ती घरपरिवार विस्थापित भएपछि अहिले गाउँमाथिको डाँडामा एकै ठाउँमा भेला भएर रातभर जाग्राम बस्ने गरेको स्थानीयवासी बताउँछन् ।
भुर्केलागाउँको चारैतिर पहिरा झरेकाले स्थानीयवासीमा त्रास उत्पन्न भएको अर्का स्थानीयवासी तेज डुम्रेलले जानकारी दिए । गाउँमाथिबाट कुनै पनि बेला पहिरो खस्ने भएकाले उक्त गाउँवासीलाई सुरक्षित स्थानमा सार्नुपर्ने स्थानीयवासीको माग छ । पहिरोको उच्च जोखिममा परेका उनीहरु अहिले अग्लाडाँडामा पाल टाँगेर बस्न बाध्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *