काठमाडौं । दोलखामा सवारी दुर्घटना हुँदा चारको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेकाअनुसार सिन्धुपाल्चोकको तातोपानीबाट दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको बोलेरो विगु गाउँपालिकाको लादुकमा गएराति १० बजे दुर्घटना भएको थियो ।
दुर्घटनामा विगु गाउँपालिका वडा नम्बर ३ वुलुङका ३५ वर्षीया विनोद केसी र ४५ वर्षीया अजिता खत्री तथा विगु गाउँपालिकाकै ५२ वर्षीय राधा खड्का र २४ वर्षीया चण्डीका थापाको मृत्यु भएको छ ।
घाइते हुनेहरुमा विगु गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष ४२ वर्षीय श्रीराम खड्का, ५५ वर्षीय चेतविक्रम खड्का, ६० वर्षीय चन्द्रकुमारी खड्का, १९ वर्षीय लक्ष्मी बढाथोकी, ४० वर्षीय लक्ष्मी बुढाथोकी, २९ वर्षीय सुस्मिता श्रेष्ठ रहेका छन् । त्यसैगरी विगु ४ लादुकका ४० वर्षीय तुलकुमारी श्रेष्ठ, ५७ वर्षीय प्रितमदेवि कार्की, कविता खड्का, तुलकुमारी श्रेष्ठ, ११ वर्षीय शेरबहादुर श्रेष्ठ, २७ वर्षीय सविना खड्का, तीर्था कुमारी खड्का र कान्छीमाया श्रेष्ठ घाइते भएका छन् ।
सिंगटीका १० महिने बालक केदार वली र बिगु गाउँपालिकाकै किशोर खड्का, उर्मिला खड्का र सलोम खड्का दुर्घटनामा घाइते भएको सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा दोलखा नम्बर १८ गुल्मका प्रमुख, प्रहरी नायव उपरिक्षक बुद्धिनारायण महर्जनले जानकारी दिए ।
ओभर लोडका कारण दुर्घटना भएको थियो । प्रमुख जिल्ला अधिकारी घिमिरेले क्षमताभन्दा बढी यात्रु बोकेको गाडी ट्रनिङ काट्न नसक्दा दुर्घटना भएको बताए । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ । सात घाइतेको दोलखामै र ११ जनाको काठमाडौंमा उपचार भइरहेको छ ।
