गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकाले गोठालालाई रेडियो वितरण गरेको छ । भेँडीगोठमा बस्ने गोठालालाई आवश्यक सूचना प्रवाह गराउने उद्देश्यले रेडियो वितरण गरिएको गाउँपालिका अध्यक्ष सन्तबहादुर गुरुङले बताए ।
‘गोठमा बस्ने दाजुभाइ, दिदीबहिनीहरू सञ्चारको दुनियाँबाट धेरै टाढा हुनुहुन्छ’, उनले भने, ‘कतिपय ठाउँमा मोबाइल पनि टिप्दैन । उहाँहरूले कम्तीमा रेडियो मात्र सुन्न पाउनुभयो भने देशविदेशमा के भइरहेको छ भन्ने जानकारी त पाउनुहुन्छ ।’
रेडियोमार्फत गाउँपालिकाले गरेका गतिविधि र सूचना पनि उनीहरूसामू पुर्याउन सकिने लक्ष्य लिइएको छ । ‘हामीले गरेका काम र गाउँपालिकाका सूचना स्थानीय रेडियोमार्फत् आइरहेका हुन्छन्’, उनले भने, ‘गाउँपालिकाले सिर्जना गरेका अवसर र आवश्यक जानकारी भीर पाखामा भेँडा चराउँदै पनि लिन सकिन्छ । त्यसका लागि स्थानीय एफएम रेडियोसँग समन्वय गरी स्थानीय भाषामा सूचना तथा समाचार प्रसारण गर्ने गाउँपालिकाको योजना छ ।’
उक्त कार्यले गर्दा भेँडीगो ठमा बस्नेहरू पनि सञ्चारको पहुँचमा आउने देखिन्छ । रेडियो सँगै एकएक थान सोलार पनि उपलब्ध गराइएको धार्चे गाउँपालिकाले जनाएको छ । अहिले सम्म २० जनालाई रेडियो, सोलार र त्रिपाल वितरण गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । उक्त कार्यका लागि दुई लाख रुपियाँको बजेट विनियोजन गरिएको गाेरखापत्र दैनिकमा समाचार छापिएकाे छ ।
