काठमाडौं । कृषिमा वैदेशिक लगानी भित्राउँदा कुन कुन क्षेत्रमा भित्राउने हो स्पष्ट रुपमा उल्लेख हुनुपर्ने सांसदहरुले बताएका छन् । आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुले सरकारले कृषिमा विदेशी लगानी भित्राउने निर्णय गर्दा कुन कुन क्षेत्रमा भित्राउने हो स्पष्ट पार्नुपर्ने बताएका हुन् ।
सरकारले कृषिमा विदेशी लगानी भित्राउने भनिएपनि कुन कुन क्षेत्रमा प्राथमिकता दिने हो स्पष्ट नभएको सांसदहरुले बताएका हुन् । बैठकमा बोल्दै समिति सभापति विमलप्रसाद श्रीवास्तवले कृषिको कुन कुन क्षेत्रमा विदेशी लगानी आवश्यक हो स्पष्ट हुनुपर्ने बताए । सांसद अमृतादेवी अग्रहरीले नेपालको कृषिमा वैदेशिक लगानी आवश्यक रहेको बताइन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले कृषि उत्पादनलाई आत्मनिर्भर बनाउँदै निर्यातको चरणमा जान ठूलो लगानीको आवश्यकता पर्ने भएकाले कृषिमा विदेशी लगानीको आवश्यकता देखिएको बताए ।
स्वदेशमै रोजगारी सिर्जना गर्न उद्योगहरु स्थापना गर्नका लागि राज्यले आवश्यकता ठानेर नै कृषिमा विदेशी लगानी भित्राउन लागेको बताए । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव प्रेमनारायण कँडेलले नेपालको प्राथमिक उत्पादनलाई हानी नहुनेगरी कृषिमा विदेशी लगानी भित्राउनुपर्ने बताए ।
