पोखरा । सन् २०२२ मा मुस्ताङको लेतेमा हुने भनिएको अन्तर्राष्ट्रिय जिमखाना प्रतियोगिताको तयारी अभ्याससँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित चितवनका व्यवसायीको टोली मुक्तिनाथतिर लागेको छ । नेपाल अटोमोबाइल्स एशोसिएशन वाग्मती प्रदेश र चितवन अटोमोबाइल्स डिलर्स एशोसिएशनको आयोजनामा सो टोली शुक्रबार उक्त स्थानतिर लागेको हो ।
कार्यक्रमका संयोजक राजन पियाले मोटर स्पोर्टस्को प्रवर्द्धन र अन्तर्राष्ट्रिय जिमखाना प्रतियोगिताको तयारीलाई जोड दिएर कार ¥याली गरिएको बताए । “सन् २०२२ मा अन्तर्राष्ट्रिय जिमखाना प्रतियोगिता गर्ने भनिएको लेतेभन्दा केहीमाथि कालीगण्डकी करिडोरसँगैको तीन चार किलोमिटरको बगरमा गाडी घुमाउने, चलाउनेलगायतका गतिविधिसम्बन्धी अभ्यास गराउने छौँ”, पियाले भने । योसँगै मोटर स्पोट्र्सलाई प्रवर्द्धन, सडक सुरक्षामा सचेतनासहित चितवनको देवघाट र मुक्तिनाथलाई धार्मिक पर्यटनबाट जोड्न र आन्तरिक पर्यटन प्रवर्द्ध गर्ने उद्देश्यसमेत रहेको उनको भनाइ छ ।
पियाले सुस्ताएको पर्यटनलाई चलायमान गराउन अब यस्ता केही गतिविधिबाट आन्तरिक पर्यटन चलायमान बनाउन लाग्नुपर्ने बताए । पियाका अनुसार औपचारिक कार्यक्रम दुई दिनको भए पनि अधिकांश व्यवसायी केही दिन उताका अन्य ठाउँ घुमेर फर्कन सक्नेछन् । आन्तरिक पर्यटन पुनःरुत्थान समिति गण्डकी प्रदेशका संयोजक अग्नि कँडेलले सुस्ताएको पर्यटन क्षेत्रमा करिब १०० जनाको टोली मुक्तिनाथ पुगेर मोटर स्पोर्टस्को अभ्यासमा जुट्ने कार्यक्रमले आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
