नेपाललाई थ्री नेसन्स कपको उपाधि

प्रज्जवल थापा । घरेलु टोली नेपालले थ्री नेसन्स कप अन्तराष्ट्रिय फूटबल प्रतियोगिता उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई २-१ गोलले पराजित गरेको हो । यससँगै नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि उचालेको छ ।

नेपाली टोलीलाई जित दिलाउन सन्जोक राई र विशाल राईले एक/एक गोल गरे । बंगलादेशको लागि रहमान गरेको गोल सान्त्वना गोलमा सिमित रह्यो । खेलमा लगातार आग्रमण गरेको नेपालले १२ औं मिनेटमा अग्रता लिने अवसर गुमाएको थियो । त्रिदेव गुरुङले पेनाल्टी क्षेत्रभित्र बल राम्रोसँग कन्ट्रोल गर्न नसक्दा गोल गर्ने अवसर गुमाएको थियो । १६ औं मिनेटमा सुनिलको क्रसमा अनन्तको हेडर बंगलादेशी गोलरक्षक रहमानले सुन्दर बचाउ गरे ।

खेलको १८ औं मिनेटमा बंगलादेश डिफेन्सले राम्रोसँग क्लियर गर्न नसकेको बलमा सन्जोकले भली प्रहारमा सुन्दर गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । सन्जोकको यो डेब्यु गोल हो । उनले समूह चरणको तेस्रो खेलमा बंगलादेशविरुद्ध खेल्दै नेपालको लागि डेब्यु गरेका थिए । यससँगै नेपालले आठ अन्तराष्ट्रिय खेल पश्चात् पहिलो गोल गरेको हो ।

२९ औं मिनेटमा अन्जनले गोलरक्षकसँग वान वर्सेस वान भएको अवस्थामा गोल गर्ने सुन्दर मौका गुमाए । यस्तै ४२ औं मिनेटमा विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएका थिए । दोस्रो हाफको ६६ औं मिनेटमा अनन्त तामाङ हेडर विपक्षी गोलरक्षक रहमानले बचाए । ६६ औं मिनेटमा बंगलादेशका याजिन अरिम्बाले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

८३ औं मिनेटमा रहमानले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाँकी समयमा थप गोल हुन नसक्दा नेपाल २-१ गोलले विजयी भएको हो । जितसँगै नेपालले पाँच हजार अमेरिकी डलर हात पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *