काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एक सय ५३ जना केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गरेका छन् । नेकपाको विधानको धारा ५९ को उपधारा ४ मा कुल संख्याको २५ प्रतिशत केन्द्रीय सदस्यले बैठक माग गरेको खण्डमा एक महिनाभित्र केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने व्यवस्था छ ।
केन्द्रीय कमिटीको बैठक माग गर्दै एक सय ५३ केन्द्रीय सदस्यले हस्ताक्षरसहित बुधबार पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा कार्यालयसचिव श्रीराम ढकालमार्फत लिखित ध्यानाकर्षणपत्र दर्ता गराएका छन् । अब नेकपाको विधानअनुसार ढिलोमा एक महिनाभित्र केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने हुन्छ ।
नेकपाको विधानमा ६ महिनाभित्र केन्द्रीय कमिटी बोलाउनुपर्ने व्यवस्था छ । यसअघि १५ देखि १९ माघसम्म नेकपा केन्द्रीय कमिटीको दोस्रो बैठक राष्ट्रिय सभागृहमा बसेको थियो । विधानअनुसार बैठक बोलाउनुपर्ने समयावधि गुज्रिनै लाग्दा केन्द्रीय सदस्यहरूले बैठक बोलाउन माग गरेका हुन् ।
