सहमति कार्यान्वयन नभए निर्णायक आन्दोलन गर्ने शिक्षक महासङ्घको चेतावनी

काठमाडौं । नेपाल शिक्षक महासङ्घले विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै माग सम्बोधन नभए कडा र निर्णायक आन्दोलनमा जाने चेतावनी दिएको छ ।

महासङ्घका अध्यक्ष सुन्दर पन्त र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले समेत शिक्षक तथा विद्यालय कर्मचारीका समस्या समाधानमा संवेदनशीलता नदेखाएको आरोप लगाएका हुन् ।

महासङ्घका अनुसार विगतमा शिक्षक आन्दोलनपछि सरकारसँग भएका सहमति कार्यान्वयन भएको भए शिक्षा क्षेत्रका अधिकांश समस्या समाधान भइसक्ने र सार्वजनिक शिक्षाको गुणस्तर सुधारमा उल्लेखनीय प्रगति हुने थियो । तर, सरकारले वार्ताका क्रममा सहमति गर्ने र सार्वजनिक रूपमा शिक्षकका पक्षमा बोल्ने गरे पनि कार्यान्वयनमा इमान्दारिता नदेखाएको महासङ्घको भनाइ छ ।

महासङ्घले सरकार र शिक्षा तथा खेलकुद मन्त्रालयसमक्ष सातबुँदे माग अघि सारेको छ । महासङ्घले नयाँ विद्यालय शिक्षा ऐन जारी हुनुअघि स्थायी भएका सबै शिक्षकलाई पुरानै प्रणालीअनुसार निवृत्तिभरणको व्यवस्था गर्न माग गरेको छ । नयाँ ऐन जारी भएपछि स्थायी हुने शिक्षक तथा कर्मचारीका हकमा भने योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गर्नुपर्ने उसको माग छ ।

त्यस्तै, अस्थायी सेवाबाट आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी भएका शिक्षकको निवृत्तिभरण प्रयोजनका लागि अस्थायी सेवाअवधि जोड्नुपर्ने र यो सुविधा अवकाश पाइसकेका शिक्षकलाई समेत उपलब्ध गराउनुपर्ने महासङ्घले जनाएको छ ।

दुर्गम तथा स्थानीय भत्ता कटौती गर्ने नीति सच्याउनुपर्ने माग गर्दै महासङ्घले विगतमा खाइपाई आएको भत्ता बेरुजु देखाएर फिर्ता गर्न लगाउनु अन्यायपूर्ण भएको बताएको छ । सबै शिक्षकलाई दुर्गम तथा स्थानीय भत्ता उपलब्ध गराउन पनि उसले माग गरेको छ ।

त्यसैगरी विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास (ईसीडी) शिक्षकका लागि दरबन्दी सिर्जना गरी नेपाल सरकारबाटै तलबभत्ता उपलब्ध गराउनुपर्ने महासङ्घको माग छ ।

विद्यालय शिक्षा विधेयकको मस्यौदा महासङ्घसँग संस्थागत सहकार्य र संवाद गरी तयार गर्न तथा विगतका सबै सहमति समेटेर विद्यालय, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री शिक्षा ऐन तत्काल जारी गर्न पनि माग गरिएको छ ।

महासङ्घले तेस्रो राष्ट्रिय परिषद्बाट पारित गरी पेस गरेको ५४ सूत्रीय माग तत्काल सम्बोधन गर्न र शिक्षा नियमावलीको दसौँ संशोधनअन्तर्गत नियम १८७ को उपनियम ३ बमोजिम मन्त्रालयमा पेस गरिएको महासङ्घको विधान अविलम्ब स्वीकृत गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *