इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

विज्ञप्ति जारी गरी उनले कांग्रेस सभापति गगन थापालगायतका व्यक्तिलाई लक्षित गरी सत्तापक्षबाटै बयानको पटकथा तयार पार्ने, हिरासतमा रहेका व्यक्तिको मोबाइल अनधिकृत व्यक्तिले जफत गरी दुरुपयोग गर्ने तथा तयार पारिएको कागज पढ्न बाध्य पार्ने काम भइरहेको भए त्यो विधिको शासनमाथिको गम्भीर प्रहार हुने बताएका छन् ।

हिरासतमा रहेका इनम सापकोटाले आफ्नी श्रीमतीमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनमा उल्लेखित विवरणले गम्भीर प्रश्न उठाएको आङ्देम्बेको भनाइ छ ।

अनुसन्धानका नाममा दबाब दिएर इच्छाअनुसारको बयान गराउन खोज्नु र राजनीतिक प्रतिशोधका लागि राज्यशक्तिको दुरुपयोग गर्नु लोकतान्त्रिक मूल्य तथा कानुनी शासनको मर्मविपरीत रहेको उनले बताएका छन् ।

प्रधानमन्त्रीलाई प्रश्न गर्दै आङ्देम्बेले सरकार सापकोटा प्रकरणको निष्पक्ष अनुसन्धानमा लागेको हो वा नियोजित रूपमा फसाउने षड्यन्त्र गरिरहेको हो भन्ने स्पष्ट पार्न माग गरेका छन् ।

उनले यस प्रकरणलाई राजनीतिक प्रतिशोधको विषयमा मात्र सीमित नराखी राज्यका अनुसन्धानकारी निकायको विश्वसनीयता र लोकतान्त्रिक व्यवस्थासँग जोडिएको विषयका रूपमा लिनुपर्ने बताएका छन् ।

‘सत्ता स्थायी हुँदैन, तर राज्यका संस्थाहरूको विश्वसनीयता र कानुनी शासन स्थायी हुनुपर्छ,’ उनले भनेका छन् । कांग्रेस नागरिक स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनको पक्षमा रहेको उल्लेख गर्दै आङ्देम्बेले प्रकरणका सम्पूर्ण आरोपको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । दोषी देखिए जोसुकैलाई पनि कानुनबमोजिम कारबाही गर्नुपर्ने उनको भनाइ छ ।

‘लोकतन्त्रमा फरक विचार राख्नेलाई फसाउने पटकथा होइन, न्याय सुनिश्चित गर्ने कानुन आवश्यक छ,’ आङ्देम्बेले विज्ञप्तिमार्फत भनेका छन् ।

उनले सरकारलाई क्षणिक आवेग वा राजनीतिक स्वार्थका आधारमा नभई संविधान र विधिको शासनअनुसार सञ्चालन हुनसमेत आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *