बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१, पथलैया चेकपोस्ट नजिकबाट प्रहरीले २३७.१७ किलोग्राम गाँजासहित एउटा गाडी बरामद गरेको छ। गाडीका चालक भने फरार भएका छन्।
प्रहरीका अनुसार शनिबार साँझ अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको बा १७ च २६३६ नम्बरको गाडीलाई शंका लागेर जाँच गर्न खोज्दा चालकले गाडी नरोकी तीव्र गतिमा भगाएका थिए।
त्यसपछि प्रहरी चौकी पथलैया र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले गाडी पछ्याएको थियो। पछ्याउने क्रममा चालकले दुधौरा खोलाको पुलपारि जंगलछेउमा इन्जिन चालु अवस्थामै गाडी छाडेर फरार भएका थिए।
प्रहरी टोलीले उक्त जंगल क्षेत्रलाई घेराबन्दी गरी खोजतलास गर्दा चालक फेला नपरे पनि उनी भागेको दिशातर्फ एक थान किप्याड मोबाइल फेला परेको जनाएको छ।
गाडी नियन्त्रणमा लिएर जाँच गर्दा पछाडिको डिक्कीमा लुकाइछिपाइ राखिएको २३७.१७ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ। गाडी र गाँजा नियन्त्रणमा लिइएको छ भने फरार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
