तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित डम्पिङ साइट क्षेत्रबाट मर्स्याङ्दी नदीमा खसेर एक बालक बेपत्ता भएका छन्। चितवनस्थित पारिजात सेकेन्डरी विद्यालयबाट शैक्षिक भ्रमण गरी फर्कने क्रममा आज साँझ करिब ६ः२० बजे उक्त घटना भएको हो।
चितवनको भरतपुर महानगरपालिका–६ निवासी १५ वर्षीय अंकित गुरुङ गाडी रोकिएको बेला शौचालय जाने क्रममा सडकबाट तल मर्स्याङ्दी नदीमा खसेर बेपत्ता भएको बताइएको छ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं। २३ मनकामना गण तनहुँबाट खोजी तथा उद्धारका लागि टोली परिचालन गरिएको छ।
बेपत्ता बालकको खोजी तथा उद्धारका लागि चार जना गोताखोरसहित सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
