सुर्खेत । प्रधानमन्त्री बालेन्द्र शाहले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने भएका छन् । आगामी मंसिर १६ गते बिहान १० बजे कर्णाली प्रदेशको सुर्खेतमा प्रतियोगिताको उद्घाटन समारोह आयोजना हुने भएको हो ।
शनिबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्ने जानकारी दिएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा पहिलोपटक कर्णाली प्रदेशमा हुन लागेको राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन हुनुअघि नै विभिन्न खेलका प्रतिस्पर्धा सुरु भइसकेका छन् । आवासीय व्यवस्थापन तथा खेल पूर्वाधारमा देखिएका समस्याका कारण सबै खेल एकैपटक सञ्चालन गर्न नसकिएपछि केही विधाका प्रतिस्पर्धा उद्घाटन समारोहअघि नै सुरु गरिएको हो ।
राखेपका सदस्यसचिव रामचरित्र मेहताले प्रतियोगिता सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए । उनले दशौं राष्ट्रिय खेलकुदलाई कर्णाली प्रदेशले खेलकुद महोत्सवका रूपमा लिनुपर्ने धारणा राखे ।
सदस्यसचिव मेहताका अनुसार मंसिर १६ गते औपचारिक उद्घाटन हुने भए पनि केही खेलका प्रतिस्पर्धा मंसिर ८ गतेदेखि नै सञ्चालन भइरहेका छन् । प्रतियोगिता मंसिर २७ गतेसम्म चल्नेछ ।
