एपीएफलाई झापा महिला गोल्डकपको उपाधि

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबले दोस्रो संस्करणको झापा महिला गोल्डकपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।

दुधे रंगशालामा निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि उपाधिको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो । जहाँ एपीएफले बाजी मार्‍यो ।

पेनाल्टी सुटआउटमा एपीएफका गीता राना, निशा थोकर, रश्मीकुमारी घिसिङ र रेनुका नगरकोटीले गोल गरे । आर्मीका तुलसा बोहोरा र सुस्मिता चौधरीले गोल गर्दा यसोदा शाही र बिमला थापाको प्रहार एपीएफकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले विफल पारिन् ।

त्यसअघि खेलको ३०औँ मिनेटमा दीपाको पासमा बिमला थापाले गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन् । तर, ५९औँ मिनेटमा रश्मीकुमारी घिसिङले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै एपीएफलाई खेलमा फर्काइन् । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

फाइनलमा दुई पेनाल्टी बचाएकी एन्जिला तुम्बापो सुब्बा प्लेयर अफ द म्याच घोषित भइन् । उनले प्रतियोगिताको उत्कृष्ट गोलरक्षकको अवार्डसमेत जितिन् ।

व्यक्तिगत विधाका अवार्डमा पनि एपीएफकै वर्चस्व रह्यो । एपीएफकी गीता राना उत्कृष्ट डिफेन्डर, रेनुका नगरकोटी उत्कृष्ट मिडफिल्डर, आर्मीकी चन्द्रा भण्डारी उत्कृष्ट फरवार्ड, एपीएफका जिवेश पाण्डे उत्कृष्ट प्रशिक्षक तथा एपीएफकी रश्मीकुमारी घिसिङ सर्वाधिक गोलकर्ता घोषित भए ।

व्यक्तिगत विधाका विजेताले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *