भैरहवा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले सरकार मुलुकमा लगानीको वातावरण बनाउन तत्पर रहेको बताएका छन् । उनले उद्योगी–व्यवसायीको साथ पनि सरकारले खोजिरहेको बताएका हुन् ।
शनिबार भैरहवामा चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को १९ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री साहले वर्तमान सरकार सोहीअनुसार अघि बढिरहेको बताएका हुन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई मन्त्री बनाउने बेला एउटै कुरो भन्नुभएको थियो,त्यो सम्झिन्छु र त्यही कारणले आज म यहाँ उपस्थिति भएको छु । उहाँ दुवैजनाको एउटै भनाइ थियो, तपाईले उद्योगी–व्यवसायीको मन जित्नुस् र ९६ खर्ब जुन राष्ट्र बैंकमा थुप्रिएको छ, जसको ब्याज मात्र सरकारले लिनुपरेको छ । त्यो रकम उद्योग–व्यवसायमा कसरी चलायमान बनाउने, त्यसको लागि काम गर्नुहोस भनेर उहाँहरुले जिम्मा दिनुभएको छ, त्यसको लागि २४ सै घण्टा खटेको छु,’ मन्त्री साहले भने ।
उनले उद्योग विभागमा एकद्वार प्रणालीलाई सशक्त बनाउन लागिपरेको बताए । उनले उद्योग मन्त्रालयलाई आफ्नै घर सम्झिन आग्रह गरे ।
उनले आफ्नो पारिवारिक पेशा नै व्यवसाय भएको र पढाइको पेशा इन्जिनियरिङ/औद्योगिक क्षेत्र भएकोले उद्योगी–व्यवसायीको अथाह माया भएको बताए । मञ्चमा मात्र भाषण गर्नुभन्दा बसेर समस्या समाधानका लागि चिन्तित हुनुपर्ने उनको भनाइ थियो ।
