इनम प्रकरणले सरकारको अराजकता उजागर गर्‍यो : पूर्वडीआईजी खरेल

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले इनम सापकोटाले राष्ट्रिय मानव अधिकार आयोगमा दिएको उजुरीलाई आधार बनाउँदै सरकारको कार्यशैलीमाथि कडा आलोचना गरेका छन् । उनले इनम प्रकरणसहित सम्बन्धित सबै घटनाको निष्पक्ष अनुसन्धान गर्न र सापकोटाको परिवारलाई सुरक्षा दिन माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत खरेलले इनम सापकोटाको उजुरीले सरकारको कार्यशैलीबारे गम्भीर प्रश्न उठाएको टिप्पणी गरेका छन् । उनले सुकुम्बासी विस्थापन, रसुवा बाढी प्रभावित क्षेत्रमा पुनःस्थापना तथा राहतका काम र सरकारी कर्मचारीमाथि कथित दबाब तथा यातनाका घटनालाई जोड्दै सरकारको व्यवहार अमानवीय भएको आरोप लगाएका छन् ।

उनले सरकारका गतिविधिमाथि उठेका प्रश्नलाई नागरिकले सहजै बिर्सने प्रवृत्तिप्रति पनि व्यंग्य गरेका छन् । प्रतिपक्ष र नागरिकका प्रश्नसँग सरकार डराएको आरोप लगाउँदै उनले आफ्नै फिक्सरलाई जेलमा राखेर अरूविरुद्ध जबर्जस्ती बयान दिलाउन खोजिएको भन्दै टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, ‘इनम सापकोटाले मानवअधिकार आयोगमा दिएको उजुरीले यो सरकार कतिसम्मको अराजक भइसकेको छ भन्ने स्पष्ट भइसक्यो । यसमा अब केही भनिरहनु पर्ने छैन । सुकुम्बासीहरुलाई बिना योजना विस्थापन गर्ने, रसुवा बाढीबाट प्रभावित क्षेत्रमा ठोस कदम चाल्न नसक्ने, सरकारी कर्मचारीहरुलाई बन्धक बनाएर, यातना दिएर, आफू बमोजिमका काम गराउने, यो सरकार र यीनका सल्लाहकारहरुले गर्दै आएको अमानवीय व्यवहार पटकपटक सार्वजनिक हुदै आएको छ । तर, डिमेन्सीयाबाट पिडित हामीजस्ता नागरिकहरु रातारात यो सरकारलाई बेनिफिट अफ डाउट दिएर बिर्सिदिन्छौं । प्रतिपक्ष र नागरिकका प्रश्नसँग डराएको यो सरकारले आफ्नै फिक्सरलाई जेलमा राखेर जबरजस्ती अरुकाविरुद्ध बयान दिन लगाएर के गर्न खोज्दैछ भन्ने विषयमा धेरै सोच्नै पर्दैन । आफ्ना कालाकर्तूत लुकाउन र आफ्नो वर्चस्व कायम राख्न यो हदसम्म खस्न चाहिँ आवश्यक थिएन । बालेनले देश बनाउँछ भन्दाभन्दा निरंकुशता र गैरजिम्मेवार प्रवृत्तिलाई प्रशय नदिऔं ।’

उनले सरकारी संरचना तथा संयन्त्रको दुरुपयोग गरी इनममाथि रहेको नागरिक विश्वास कमजोर बनाउने काम सरकारबाटै भइरहेको आरोप लगाउँदै त्यसलाई जेनजी विद्रोहको अपमानसमेत भनेका छन् ।

उनले भनेका छन्, ‘प्रेसको प्रश्नको जवाफ नदिने, संसदमा प्रश्नहरुको सामना नगर्ने, प्रतिपक्षीले प्रश्न गर्दा उल्टै पक्राउको योजना बुन्ने, जस्ता गैरजिम्मेवार र निरंकुश प्रवृत्तिको विरोध नागरिक तवरबाटै सुरु हुन आवश्यक छ । जसरी सरकारी संरचना र संयन्त्रहरुको दुरुपयोग गर्दै यीनमाथि रहेको आम नागरिकको विश्वास खसाउने कामको नेतृत्व सरकारले नै गरिरहेको छ, यो घोर भत्र्सना योग्य र जेनजी विद्रोहको अपमान नै हो । इनमले अहिलेसम्म दिएका बयान, आयोगमा पठाएको उजुरी र, उनी सम्बन्धीत सबै प्रकरणहरुको निष्पक्ष अनुसन्धान होस् । त्यतिन्जेल, इनमको परिवारलाई सुरक्षा दिइयोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *