काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा उठेका आरोपबारे प्रधानमन्त्रीसँग जवाफ माग्दै निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद् अग्रसर हुनुपर्ने बताएका छन् ।
शर्माले सामाजिक सञ्जालमार्फत सभापति गगन थापालगायतका व्यक्तिविरुद्ध बयान दिए छोडिदिने, नत्र फसाइदिने भन्ने आरोप इनम सापकोटाको श्रीमतीले उजुरीमा उल्लेख गरेको विषयको वास्तविकता के हो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।
उनले राष्ट्रिय मानव अधिकार आयोगमा सापकोटाले दिएको उजुरी झुटो हो वा राज्यको आडमा अपराधका योजनाहरू क्रमशः बनिरहेका छन् भन्ने विषय स्पष्ट हुनुपर्ने बताएका छन् ।
‘पारदर्शिता लोकतन्त्रको आधारभूत स्तम्भमध्ये एक हो,’ शर्माले लेखेका छन्, ‘इनम प्रकरणलाई सस्पेन्स थ्रिलर फिल्मका रूपमा होइन, यसमा जोडिएका सम्पूर्ण सत्यतथ्य जान्न पाउने हक नागरिकलाई छ ।’
उनले घटनासँग जोडिएका विषयहरू क्रमशः सार्वजनिक भइरहेको भन्दै अब वास्तविकता पूर्ण रूपमा उजागर हुनुपर्नेमा जोड दिएका छन् ।
शर्माले प्रकरणको सत्यतथ्य पत्ता लगाउन निष्पक्ष र पारदर्शी छानबिन आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि संसद्ले अग्रसरता लिनुपर्ने बताएका छन् ।
‘षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दैछन्, अब पर्दा पुरै च्यातिनुपर्छ । वास्तविकता जे हो त्यस उपर अब निष्पक्ष र पारदर्शी छानबिन गराउन संसदले अग्रसरता लिन जरुरी छ,’ शर्माले लेखेका छन् ।
