त्रिभुवन विमानस्थलबाट १६ किलो थाई गाँजासहित तीन भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो थाई गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार शुक्रबार विमानस्थलमा हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने शंकास्पद यात्रुको प्रोफाइलिङ गर्ने क्रममा दुई भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।

बंगलादेश हुँदै थाइल्यान्डबाट नेपाल आएका भारतीय नागरिक ५३ वर्षीय सैयद अहमद साबिर अहमद र २६ वर्षीय मोहम्मद कादिर मोहम्मद हनिफ शेखलाई शंकास्पद लागेर जाँच गर्दा उनीहरूले ल्याएको झोलाबाट १६ किलो थाई गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

उक्त गाँजा भारततर्फ लैजानका लागि एयर इन्डियाको उडानमार्फत दिल्लीबाट नेपाल आएका अर्का भारतीय नागरिक ४८ वर्षीय राहत फारुक शेखलाई समेत पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

पक्राउ परेका तीनै जना भारतको महाराष्ट्र, मुम्बईका बासिन्दा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि लागूऔषध नियन्त्रण ब्यूरोबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *