देउवा समूहको गतिविधिमाथि राज्य किन मौन ?

-रमेश खरेल ।

गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत आधिकारिकता दिइसकेको अवस्थामा समानान्तर गतिविधि सञ्चालन गरिरहेका पुराना नेताहरूलाई रोक्ने हिम्मत राज्यका कुनै निकायले देखाउन नसक्नु विडम्बनापूर्ण छ । विधिको शासन र कानुनी सर्वोच्चताको कुरा गर्ने राज्य संयन्त्रले आफ्नै निर्णय र संस्थागत मान्यताको कार्यान्वयन गर्न नसक्ने हो भने ती निर्णयको अर्थ के रहन्छ ?
त्यसमाथि सर्वोच्च अदालतले प्रदान गरेको निस्साको सुनुवाइसमेत समयमा हुन नसक्दा कांग्रेसको विवाद थप लम्बिएको छ । देशका विभिन्न संवैधानिक तथा संस्थागत संरचनालाई सरकारले आफ्नो दबाब र प्रभावमा पार्दै गएको भन्ने आशंका भइरहेका बेला भोलि कांग्रेसविरुद्ध कुनै फैसला आयो भने त्यसलाई अस्वाभाविक मान्नुपर्ने अवस्था रहने छैन । न्यायिक प्रक्रियाको निष्पक्षता र समयमै न्याय पाउने अधिकारमाथि उठेका प्रश्नलाई हल्का रूपमा लिन मिल्दैन ।

दशकौँ राजनीति गरेर आएका पुराना नेताहरूले आखिर के सिके ? राजनीतिक संस्कार, विधि र लोकतान्त्रिक मूल्यको सम्मान गर्नसमेत नसक्ने हो भने अनुभवको घमण्डको औचित्य के ? जेनजी आन्दोलनका बेला आफूलाई गगन थापाहरूले कुट्न आएको भन्ने जस्ता तर्क गर्दै हिँड्ने शेरबहादुर देउवाले आफ्नो राजनीतिक मर्यादा र स्तर कायम राख्न सिक्नुपर्छ ।

जेनजी विद्रोहपछि पुरानो राजनीतिक शैलीमाथि गम्भीर प्रश्न उठिरहेका बेला नेपाली कांग्रेसलाई जीवन्त, जागृत र समयअनुकूल बनाउने प्रयास भइरहेको छ। तर रूपान्तरणको प्रयासलाई साथ दिनुको सट्टा समानान्तर गतिविधि सञ्चालन गर्ने र नेतृत्वविरुद्ध निरन्तर प्रहार गर्ने प्रवृत्तिले आखिर के हासिल गर्न खोजेको हो ? देउवा र उनको समूहका गतिविधिमाथि राज्यले कानुनसम्मत ढंगले आवश्यक कदम चाल्नुपर्छ ।
अर्कोतर्फ, नयाँ राजनीति र सुशासनको चर्को नारा लगाउने राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व तहसँग जोडिएको भनिएको चीन अडियो प्रकरणले पनि धेरै प्रश्न उठाएको छ । बहालवाला प्रधानमन्त्री र उनका मिम एक्सपर्ट सल्लाहकारदेखि समग्र पार्टीको प्राथमिकता कांग्रेसभित्र देउवालाई नै पुनः स्थापित गर्ने हो भने नयाँ र पुरानो राजनीतिको भिन्नता के रह्यो ? अरूको राजनीतिक वर्चस्व स्वीकार गर्न नसक्ने प्रवृत्ति सबै दलमा देखिनु दुर्भाग्य हो।

यी राजनीतिक गतिविधिहरूलाई हेर्दा एउटा रणनीति बारम्बार दोहोरिएको देखिन्छ, पहिले प्रोपगण्डा चलाउने, त्यसपछि जनमत परीक्षण गर्ने, अपेक्षित परिणाम नआए विषयान्तर गर्ने र फेरि अर्को मुद्दा उछाल्ने। प्रश्न यति मात्रै हो, यस्ता राजनीतिक दोहोरो मापदण्ड र ढोंगको राजनीति कहिलेसम्म चलिरहन्छ?

आगामी स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर नेपाली कांग्रेसलाई कमजोर पार्न भइरहेको राजनीतिक सक्रियता र शक्ति परिचालनको बहस पनि कम रोचक छैन। तर राजनीतिक प्रतिस्पर्धामा अरूलाई पछार्ने रणनीति बनाउनुअघि आफ्नै राजनीतिक विश्वसनीयता, नैतिक धरातल र जनताप्रतिको जवाफदेहिताबारे पनि समीक्षा गर्नुपर्ने हुन्छ ।

गगन थापाको राजनीतिक ओज घटाउने प्रयास, संस्थागत रूपान्तरणमाथिको अवरोध र बाह्य राजनीतिक हस्तक्षेपका चर्चाले नेपाली कांग्रेसको आन्तरिक विवादलाई अझ जटिल बनाइरहेका छन्। राजतन्त्रको दबाब र चुनौतीका बीच पनि आफ्नो राजनीतिक अडान कायम राखेका गगनलाई आजका स्वार्थकेन्द्रित राजनीतिक समूहले कमजोर बनाउँछन् भन्ने ठान्नु भ्रम मात्र हो ।

देउवा देशबाहिर हुँदा रेड कर्नर नोटिस जारी गर्ने चेतावनी दिनेहरू चार महिनासम्म मौन रहनुले पनि उनीहरूको नियत र राजनीतिक प्राथमिकतामाथि प्रश्न उठाएको छ । अन्ततः एउटा कुरा स्पष्ट हुनुपर्छ, विद्रोहको बलमा सत्तामा पुग्दैमा विद्रोहको भावना बुझिन्छ भन्ने छैन । परिवर्तनको नारा दिन सजिलो छ, तर परिवर्तनलाई आत्मसात् गर्न साहस, इमानदारी र लोकतान्त्रिक चरित्र चाहिन्छ। जेनजी विद्रोहले खोजेको राजनीति पुरानै शैली, पुरानै अहंकार र पुरानै सत्ता स्वार्थको निरन्तरता पक्कै थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *