सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बीमामा आबद्ध गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बीमामा आबद्ध गर्ने गरी स्वास्थ्य बीमा कार्यक्रम सुधारको तयारी गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार सरकारी कर्मचारी, निजी क्षेत्रका श्रमिक तथा कर्मचारी, स्वरोजगार, अनौपचारिक क्षेत्रका श्रमिक र बेरोजगारसहित सबै नागरिकलाई स्वास्थ्य बीमामा अनिवार्य आबद्ध गर्ने योजना अघि सारिएको छ ।

मन्त्रालयले नागरिकको आर्थिक क्षमता र आयका आधारमा बीमा योगदान प्रणाली व्यवस्थित गर्ने तथा अति विपन्नलगायत विशेष समूहको बीमा प्रिमियम राज्यले व्यहोर्ने व्यवस्था गर्ने जनाएको छ । हाल पाँच सदस्यसम्मको परिवारले वार्षिक तीन हजार पाँच सय रुपैयाँ योगदान गरेबापत एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने व्यवस्था छ । मन्त्रालयका अनुसार हालसम्म एक करोड ६८ लाखभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । तीमध्ये ६२ लाखभन्दा बढीको बीमा सक्रिय रहेको छ । देशभरका ५०२ स्वास्थ्य संस्था स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध छन् ।

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा अन्य निकायमार्फत सञ्चालन भइरहेका स्वास्थ्य उपचार सुविधासम्बन्धी कार्यक्रमबीच समन्वय र एकीकरण गर्ने मन्त्रालयको प्राथमिकता छ ।

त्यसैगरी, बीमामार्फत सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाको दायरा विस्तार गरी सहज, सुलभ र गुणस्तरीय उपचार सुनिश्चित गर्ने तथा बीमाको आबद्धता, नवीकरण, स्वास्थ्य अभिलेख, प्रेषण, दाबी र भुक्तानी प्रक्रियालाई डिजिटल तथा पारदर्शी बनाउने योजना पनि मन्त्रालयले अघि सारेको छ ।

अनावश्यक स्वास्थ्य परीक्षण, अनुचित बीमा दाबी र प्रणालीको दुरुपयोग नियन्त्रण गर्न प्रभावकारी कानुनी तथा निगरानी प्रणाली विकास गर्ने मन्त्रालयको भनाइ छ ।

तीन तहका सरकारबीच समन्वय गर्दै स्थानीय तहका आधारभूत स्वास्थ्य संस्था, प्रदेशका अस्पताल र सङ्घीय सरकारअन्तर्गतका स्वास्थ्य संस्थालाई बीमा प्रणालीसँग जोड्ने तथा उनीहरूको अधिकार, दायित्व, वित्तीय जिम्मेवारी र जवाफदेहिता स्पष्ट गर्ने योजना पनि प्राथमिकतामा राखिएको छ ।

मन्त्रालयले स्वास्थ्य बीमाको सफलता बीमित नागरिकको सङ्ख्याले मात्र नभई आवश्यक परेको समयमा सहज उपचार प्राप्त हुने अवस्था र कार्यक्रमको वित्तीय दिगोपनाले निर्धारण गर्ने जनाएको छ ।

सक्षम नागरिकबाट क्षमताअनुसार योगदान लिने, योगदान गर्न असमर्थ नागरिकको जिम्मेवारी राज्यले लिने र आर्थिक अभावका कारण कुनै पनि नेपाली उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था निर्माण गर्ने मन्त्रालयले प्रतिबद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *