‘चिल्ला कुरा’ले परिणाम नदिने भन्दै बालेनमाथि एमाले नेता रिजालको कटाक्ष

काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री बालेन साहको विदेश भ्रमणको व्यवहारलाई पूर्व भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको सन् १९६६ को अमेरिका भ्रमणसँग तुलना गर्दै आलोचना गरेका छन् ।

रिजालका अनुसार राष्ट्रको प्रतिनिधित्व गर्दै विदेश जाने नेताले आफ्नो व्यवहारबाट देशका नागरिकले के सोच्न सक्छन् भन्ने कुरालाई सधैँ ध्यानमा राख्नुपर्छ ।

उनले सन् १९६६ मा पहिलो पटक अमेरिका भ्रमणमा पुगेकी तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको प्रसंग उल्लेख गरेका छन् । अमेरिकी राष्ट्रपति लिन्डन बी. जोन्सनले ह्वाइट हाउसमा गान्धीको सम्मानमा आयोजना गरेको रात्रिभोजमा नृत्यका लागि प्रस्ताव गर्दा उनले आफ्ना नागरिकको धारणा सम्झेर प्रस्ताव अस्वीकार गरेको रिजालले उल्लेख गरेका छन् ।

उनकाअनुसार गान्धीले ‘ओहो, मेरा जनताले के सोच्लान् ?’ (Oh! What would my people think!) भन्दै नृत्यको प्रस्ताव अस्वीकार गरेकी थिइन् ।

उनले इन्दर मल्होत्राको पुस्तक ‘इन्दिरा गान्धीः अ पर्सनल एन्ड पोलिटिकल बायोग्राफी’मा मा उक्त घटनाबारे विस्तृत वर्णन रहेको पनि बताएका छन् । यस घटनालाई उदृत गर्दै रिजालले प्रधानमन्त्री बालेन साहको प्राथमिकता आफ्ना देशका नागरिकको भावना बुझ्नुभन्दा अरुको मन जित्नमा केन्द्रित भएको टिप्पणी गरेका छन् ।

‘प्रधानमन्त्री बालेन साहको ध्यान अरुको मन जित्नमा खर्च भयो, आफ्ना देशका नागरिकले के सोच्छन् भन्नेमा होइन,’ रिजालले लेखेका छन् ।
रिजालले विवादित विषयलाई थाँती राखेर गरिएका चिल्ला कुराले अपेक्षित परिणाम नदिने भन्दै टिप्पणीको अन्त्य गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *