पाकिस्तानसँगको मुक्ति युद्ध अन्त्य भएको विजय दिवसकै दिन हसिना बंगलादेश फर्किने

नयाँदिल्ली । बंगलादेशबाट अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा दुई वर्षभन्दा बढी समय निर्वासनमा बिताएपछि आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने योजना बनाएको बताएकी छन् ।

उनका प्रवक्ताले मंगलबार रोयटर्सलाई दिएको जानकारीअनुसार उनले सन् १९७१ को पाकिस्तानसँगको मुक्ति युद्ध अन्त्य भएको स्मरणमा मनाइने विजय दिवसकै दिन बंगलादेश फर्किने इच्छा व्यक्त गरेकी हुन् ।

हसिनाले स्वदेश फर्किने निश्चित मिति सार्वजनिक गरेको यो पहिलो पटक हो। उनको सम्भावित पुनरागमनले बंगलादेशमा राजनीतिक तथा कानुनी तनाव थप बढाउन सक्ने देखिएको छ। उनको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लगाइएको छ भने उनले पासपोर्ट तथा अन्य कागजात प्राप्त गर्न गरेको प्रयासपछि देशमा हिंसात्मक घटनाहरू बढेको बताइएको छ ।

हसिनाले यसअघि भारत भागेपछि रद्द गरिएको आफ्नो पासपोर्ट तथा अन्य कागजात पुनः प्राप्त गर्न पहल गरेकी छन्। साथै, दिल्लीबाट ढाका फर्किनका लागि बंगलादेशको राष्ट्रिय ध्वजावाहक विमान बिमान बंगलादेश एयरलाइन्सको व्यवस्था गर्न सरकारसँग आग्रह गरेकी छन्।

उनका प्रवक्ता सैयद मोजम्मेल अलीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘शेख हसिना सन् २०२४ अगस्ट ५ मा बंगलादेशको विमानबाट भारत ल्याइएकी थिइन्। अहिले उनले दिल्लीबाट ढाका फर्किनका लागि पनि सरकारले हवाई यातायातको व्यवस्था गरिदिन आग्रह गरेकी छन्।’

प्रवक्ताले संविधानविपरीत परिस्थितिमा उनलाई निर्वासनमा पठाइएको दाबी गर्दै डिसेम्बर १६ अर्थात् विजय दिवसमा स्वदेश फर्किने व्यवस्था मिलाउनु सरकारको जिम्मेवारी भएको बताएका छन्।

बंगलादेश सरकारका प्रवक्ताले यस विषयमा तत्काल प्रतिक्रिया दिएका छैनन्। बंगलादेशका एक मन्त्रीले आइतबार रोयटर्सलाई हसिना स्वदेश फर्किए पक्राउ गरी जेलमा राखिने बताएका थिए। साथै, उनलाई भारतबाट ल्याउन विमान पठाउने विषयमा भारतसँग कुनै औपचारिक छलफल नभएको पनि उनले बताएका थिए।

सन् २०२४ मा हसिनालाई सत्ता छाड्न बाध्य बनाएको आन्दोलनका क्रममा संयुक्त राष्ट्रसंघका अनुसार १ हजार ४०० जनासम्म मानिस मारिएका थिए। विद्यार्थी नेतृत्वको आन्दोलनमाथि घातक दमन गर्न आदेश दिएको आरोपमा बंगलादेशको युद्ध अपराधसम्बन्धी अदालतले गत वर्ष नोभेम्बरमा हसिनालाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो। उनले निर्वासनबाट उक्त आरोप अस्वीकार गर्दै आएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *