एजेन्सी । स्पेनिस लिग ला लिगा अन्तर्गत भएको खेलमा बार्सिलोनाले पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको भिल्लारियलमाथि ३-२ गोलको पुनरागमन जित निकालेको हो ।
क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन जेराड मार्टिन र फेर्मिन लोपेजले समान एक/एक गोल गर्दा एक गोल उपहार पाएको हो । भिल्लारियलको लागि टाजोन बुचनान र टानी ओलुवासेयीले समान एक/एक गोल गरे । खेलमा लिएको दुई गोलको अग्रता जोगाउन नसक्दा भिल्लारियल पराजित हुन पुगेको हो ।
खेलको पाँचौ मिनेटमा बुचनानले गोल गर्दै भिल्लारियललाई शुरुवाती अग्रता दिलाएका थिए । दुई मिनेटपछि ओलुबासेयीले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए । २३ औँ मिनेटमा लामिने यामाल पेनाल्टीमा चुक्दा बार्सिलोनाले खेलमा फर्किने मौका गुमाएको थियो ।
५७ औँ मिनेटमा मार्टिनले गोल गर्दै बार्सिलोनालाई २-१ गोलको स्थितिमा ल्याएका थिए । चार मिनेटपछि लोपेजले गोल गर्दै बार्सिलोनालाई २-२ गोलको बराबरीमा ल्याए । ६७ औँ मिनेटमा पाउ नाभारोले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेलमा ३-२ गोलको अग्रता लिएको थियो । इन्जुरी समयमा नाभारो रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि पाहुना टोली १० खेलाडीमा समेटिएको थियो ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना ३-२ गोलले विजयी भएको हो । जितसँगै बार्सिलोना १३ खेलबाट ३६ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट १५ अंक जोडेको भिल्लारियल १० औँ स्थानमा रहेको छ ।
