प्रधानमन्त्री बालेनको भारत भ्रमणको दोस्रो दिन आज, उच्चस्तरीय भेटवार्ता र औपचारिक कार्यक्रम हुँदै

काठमाडौँ । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भ्रमणको दोस्रो दिन आज सोमबार उच्चस्तरीय भेटवार्ता तथा विभिन्न औपचारिक कूटनीतिक कार्यक्रम हुँदैछन् ।

सार्वजनिक कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहलाई बिहान १० बजे नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिनेछ । त्यसपछि बिहान १०:४० बजे उनी राजघाट पुगेर पुष्पहार अर्पण गर्ने कार्यक्रम छ ।

भ्रमणको मुख्य राजनीतिक कार्यक्रमअन्तर्गत बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्रीसँग द्विपक्षीय भेटवार्ता हुनेछ । उक्त भेटपछि दिउँसो १२:२५ बजे सोही स्थानमा समझदारीपत्र (एमओयू) आदानप्रदान तथा संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यसपछि दिउँसो ३:१५ बजे प्रधानमन्त्री शाहले राष्ट्रपति भवन पुगेर भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । दिनभरका औपचारिक तथा कूटनीतिक कार्यक्रम सम्पन्न गरेपछि उनी अपराह्न ४:५० बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शाह आइतबार भारत पुगेका हुन्। भ्रमणको पहिलो दिन उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *