नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न भारतीय विदेशमन्त्री डा. एस. जयशंकर होटेल पुगेका छन् । दुईदिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका प्रधानमन्त्री शाहलाई भेट्न विदेशमन्त्री जयशंकर होटल ताज महल पुगेका हुन् ।
उनीहरूबीच भारतीय समयअनुसार साँझ ६ बजे भेटवार्ता हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शाह आइतबार नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने भ्रमणका लागि नयाँ दिल्ली पुगेका हुन् ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार गरी ३४ सदस्य सहभागी छन् ।
यसैगरी, निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायी टोली पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी भएको छ ।
विदेशमन्त्री जयशंकरसँगको भेटवार्तापछि साँझ ७ बजे नेपाल–भारत बिजनेस फोरमको रात्रिभोज कार्यक्रममा प्रधानमन्त्री शाह सहभागी हुने कार्यक्रम छ । आइतबारका लागि प्रधानमन्त्रीको अन्य औपचारिक कार्यक्रम भने तय गरिएको छैन ।
