काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । देउवासँगको भेटपछि सामाजिक सञ्जालमामार्फत थापाले भेटलाई महत्वपूर्ण भन्दै कांग्रेसको वर्तमान राजनीतिक अवस्था र पार्टीको आधिकारिकतासम्बन्धी विषयमा देउवा स्पष्ट र दृढ रहेको उल्लेख गरेका छन् ।
थापाले ‘देउवा दाजुसँग सात क्लिक’ भन्दै भेटका तस्बिर सार्वजनिक गरेका छन् । उनले भदौ २३ र २४ गतेको घटनाअघि, पछि तथा वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, समीक्षा र मूल्यांकनका विषयमा देउवासँग भलाकुसारी भएको बताएका छन् ।
देउवा नेपालको राजनीतिक उतारचढाव, विभिन्न राजनीतिक पात्र र घटनाक्रमका अनुभवी रहेको उल्लेख गर्दै थापाले ८० वर्षको उमेरमा पनि उनी जोसिलो रहेको र फरक राजनीतिक सम्बन्धमा पनि खुलेर मनका कुरा राख्न सक्ने टिप्पणी गरेका छन् ।
थापाका अनुसार अहिले देउवाको मुख्य जोड कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न गर्ने र पार्टीको आधिकारिकता प्राप्त गर्ने विषयमा केन्द्रित छ । देउवा रूख चिह्न प्राप्त गर्नु नै मुख्य विषय भएकोमा स्पष्ट र दृढ रहेको थापाले उल्लेख गरेका छन् । उनले भेटका थप गहन पक्ष, परिदृश्य र परिणाम क्रमशः सार्वजनिक हुँदै जाने पनि बताएका छन् ।
