प्रधानमन्त्री बालेन आज भारत भ्रमणमा जाँदै, यस्तो छ भ्रमणको कार्यतालिका

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज (आइतबार) भारतको औपचारिक भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिउँसो १ः४५ बजे नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीको भ्रमणमा ३४ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुनेछ । टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकारसहित नेपाल सरकारका उच्च अधिकारीहरू रहनेछन् ।

प्रधानमन्त्री शाह आइतबार दिउँसो ३ः४५ बजे नयाँ दिल्ली पुग्नेछन् । भ्रमणको पहिलो दिन साँझ ६ बजे उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग ताजमहल होटलमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणको मुख्य कार्यक्रम सोमबार हुनेछ । बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत तथा भेटघाट हुनेछ । त्यसपछि उनी राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन् । राजघाटको कार्यक्रम सकिएपछि प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा द्विपक्षीय वार्ता हुनेछ ।

वार्तापछि सोमबार मध्याह्न १२ः२५ बजे दुई देशबीच विभिन्न सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन आयोजना गरिनेछ ।

प्रधानमन्त्री शाहले सोमबार दिउँसो ३ः१५ बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग राष्ट्रपति भवनमा भेट गर्ने कार्यक्रम छ । त्यसपछि उनी अपराह्न ४ः५० बजे नयाँ दिल्लीबाट स्वदेश फर्कनेछन् ।

प्रधानमन्त्री शाहको यस भ्रमणलाई नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय मुद्दाहरूमा छलफल गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *